एमाले र माओवादी अलग–अलग पार्टी हुनुपर्ने कारण नै छैन : दाहाल • Image Khabar Image Khabar


एमाले र माओवादी अलग–अलग पार्टी हुनुपर्ने कारण नै छैन : दाहाल


Imagekhabar
६ माघ २०७४, शनिबार २०:३८

एमाले र माओवादी अलग–अलग पार्टी हुनुपर्ने कारण नै छैन : दाहाल

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार पार्टीनिकट जनसाँस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘नेपाली जनताले पार्टी एकतालाई स्वीकार गरिसकेका छन् । अनुमोदन गरिसकेका छन् ।’

पार्टीभित्रका केही व्यक्तिले एकताको विरोध गरिरहेको भएपनि त्यसको कुनै औचित्य नभएको र त्यसले कुनैपनि प्रभाव नपार्ने उनको भनाइ थियो ।

‘एमाले–माओवादी एकताबाट प्रतिक्रियावादीहरु आत्तिएका छन्’–अध्यक्ष दाहालले भने–‘जनता खुसी हुँदा उहाँहरु किन निराश हुनुभयो ? नेपालमा राजनीतिक स्थिरता, समृद्धि र समाजवाद आउँदा उहाँहरुलाई के घाटा हुन्छ ? मैले बुझ्न सकेको छैन । आफूलाई लागेका विषय खुला फोरममा छलफल गर्न छोडेर एकता र बहसबाट भाग्नेचाहिँ क्रान्तिकारी हुन सक्दैन ।’

नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एक–अर्काका पूरकको भूमिकामा रहँदै आएको अध्यक्ष दाहालले उल्लेख गरे ।

वि.सं. २०१९ पछि नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजन आएको स्मरण गर्दै उनले अलग–अलग समूहकारुपमा कम्युनिष्ट पार्टी अस्तित्वमा रहनुसमेत दुःखद् रहेको बताए ।

नेपालका कम्युनिष्टलाई सधैं शत्रुको व्यवहार गरिँदै आएको भन्दै उनले एमालेलाई आक्रमण गर्ने शक्तिले नै माओवादी केन्द्रलाईसमेत आक्रमण गरेको उल्लेख गरे ।

वि.सं. २०५७ को राष्ट्रिय सम्मेलनपछि प्रतिक्रियावादीको निशाना माओवादी बनेको भन्दै उनले त्यही शक्तिले एमालेलाई मित्र र माओवादीलाई दुश्मन देख्न थालेको स्पस्ट पारे ।

नेपालको राजनीतिक इतिहासमा नियतमा नभएपनि वस्तुगतरुपमा एमालेले माओवादी र माओवादीले एमालेको रक्षा गर्न वस्तुगत भूमिका खेलेको भन्दै दुवै पार्टीको महत्व विशिष्ट रहेको अध्यक्ष दाहालले बताए ।

विश्वभरि कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेकोबेला नेपालमा फैलँदै गएको भन्दै उनले एमाले र माओवादी अलग–अलग पार्टी हुनुपर्ने कारण नै नरहेको बताए ।

शान्तिपूर्णरुपमै समाजवादको तयारी गर्ने भएकाले समान राजनीतिक कार्यदिशा भएपछि अलग–अलग पार्टीको अस्तित्वमा रहिरहनु आवश्यक नभएको उनको कथन छ ।

अध्यक्ष दाहालले भने–‘हामीले माओवाद छोडेका छैनौं, एमालेले पनि जनताको बहुदलीय जनवाद छाडेको छैन । नेपालको राजनीतिक क्रान्तिमा माओवादको भूमिका छ भन्ने कुरामा एमालेका नेताहरु पनि सहमत हुनुहुन्छ, हामीपनि बहुदलीय राजनीतिक प्रतिस्पर्धामा आएका छौं, त्यसकारण समान राजनीतिक विचारधाराको हैसियतमा छौं ।’

नयाँ कम्युनिष्ट पार्टीको वैचारिक कार्यदिशाको संश्लेषण कसरी गर्ने ? भन्ने विषयमा आफूहरु छलफलमा नै रहेको भन्दै उनले जनयुद्धको भूमिका र इतिहासमा यसको योगदानबारे एमाले र आफूहरुबीच कुनै विवाद नभएको बताए ।

उनले एकले अर्काको पूर्णसम्मान गरेर र अहिलेको परिस्थिति सुहाउँदो वैचारिक कार्यदिशा बनाएर अगाडि बढ्ने भएकाले कुनै शंका नरहेको स्पस्ट पारे ।

कार्यक्रममा अध्यक्ष दाहालले महासंघले पार्टी एकताको वैचारिक र सैद्धान्तिक पक्षमा प्रस्टताको जरुरी रहेको आवश्यकता औंल्याए । रासस

प्रतिक्रिया दिनुहोस्