कांग्रेस नेताहरुको भेला घोषणापत्र जारी गर्दै सकियो • Image Khabar Image Khabar


कांग्रेस नेताहरुको भेला घोषणापत्र जारी गर्दै सकियो


Imagekhabar
७ माघ २०७४, आईतवार १५:१०

कांग्रेस नेताहरुको भेला घोषणापत्र जारी गर्दै सकियो

‘हाम्रो अभियान हाम्रो कांग्रेस’ भन्ने नाराका साथ नेपाली कांग्रेस शुद्धीकरण तथा सुदृढीकरणका लागि सात प्रदेशबाट सहभागी कांग्रेस नेताहरुको भेला घोषणापत्र जारी गर्दै सम्पन्न भएको नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले जानकारी दिए ।

कायस्थले भने–‘भेलाले देशमा हालै सम्पन्न तीनओटै तहको निर्वाचनको समीक्षा गरेको छ । कांग्रेसले भोग्नुपरेको पराजयका कारण खोजी गर्दै समस्या केलाउने काम भयो । अबका चुनौती के के छन् ? पार्टीको अबको कार्यदिशा के हुनुपर्छ ? भन्नेबारेमा बृहत् छलफल भयो । पार्टीको विधानलाई समयानुसार परिमार्जन गर्नुपर्ने सुझावसमेत नेतृत्वलाई दिनेबारेमा छलफल भयो ।’

तल्लो तहदेखि कांग्रेसलाई मजबुत् बनाएर लैजानुपर्ने, देशको नयाँ संरचनानुसार पार्टीलाई रुपान्तरण गरेर लैजानुपर्ने, पार्टीमा निरन्तररुपमा लागिरहेका पुराना नेता एवं कार्यकर्तालाई जिम्मेवारी दिइनुपर्नेलगायत बुँदा घोषणापत्रमा छ ।

भेलामा कांग्रेसमा धेरै वर्ष योगदान दिएका, प्रजातन्त्रका लागि पटक–पटक कारागार परेका, अवसर र जिम्मेवारीबाट वन्चित भएका, पार्टीको राजनीतिमा निरन्तर क्रियाशील रहेका, तरुण–विद्यार्थी–महिला तथा देशभरका १३० पुराना नेता एवं पूर्वसांसदको सहभागिता थियो ।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै पार्टीलाई मजबुत् बनाउने उद्देश्यले सुरु भएको भेला सातओटै प्रदेशमा गरिने तय भएको भेलामा सहभागी युवा नेता उमेशजंग रायमाझीले जानकारी दिए ।

भेलामा व्यक्ति वा गुटको पक्ष वा विपक्षमा नलागी पार्टीलाई सुदृढ बनाएर लैजानेबारे बृहत् छलफल गरिएको कांग्रेसका नेता देवराज चालिसेले बताए ।

भेलामा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, कांग्रेसका नेता रामपल्टन साह, नारायण भट्टराई, प्रताप गुर्घामीलगायतले पार्टीलाई आदर्श र सिद्धान्तअनुसार चलाउन अभियान महत्वपूर्ण रहेको बताए ।

देशभरबाट भेला भएका नेताले कांग्रेसलाई व्यक्तिवादीरुपमा लैजाने र गुट बनाएर जाने प्रवृत्तिको अन्त्य गर्दै ‘सिंगो कांग्रेस, हाम्रो कांग्रेस’कारुपमा अगाडि बढाउन देशभरका कांग्रेस लाग्नुपर्नेमा जोड दिएका थिए ।

हलेसीमा सभापति भेला हुँदै
कांग्रेसका सभापतिहरुको भेला सोमबार खोटाङको हलेसीमा बस्ने भएको छ ।

निर्वाचनको समीक्षा गर्ने तथा आगामी दिनमा पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल हुने भक्तपुरका अध्यक्ष दुर्लभ थापाले जानकारी दिए ।

दुईदिने भेलाले जिल्ला सभापतिको राष्ट्रिय भेला तत्काल बोलाउन अनुरोध गर्नाका साथै राष्ट्रियसभामा अवसर नपाएका जिल्ला सभापतिलाई कसरी प्रतिनिधित्व गराउन सकिन्छ भन्नेबारेमा छलफल हुने बताइएको छ ।

प्रदेश नम्बर–३ का जिल्ला सभापतिको भेला शुक्रबार भक्तपुरमा बसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्