२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


यस्तो रह्यो, प्रदेश–५ को शपथ (९ तस्वीर)


0
Shares

बुटवल उद्योग वाणिज्य संघको सभाहलमा आयोजित शपथग्रहण कार्यक्रममा प्रदेशप्रमुख उमाकान्त झाले प्रदेशसभाका ज्येष्ठ सांसद बलदेव शर्मालाई शपथग्रहण गराए । शर्माले शपथ लिएपछि उनले अरु सदस्यहरुलाई एकमुस्टरुपमा शपथ दिलाएका थिए ।

शपथ लिनका लागि प्रदेश–५ का १२ ओटै जिल्लाबाट सदस्यहरु आ–आफ्नै तरिकाले बुटवल आएका थिए । कतिपय सांसदहरु आफ्नै संस्कृति र भेषभूषामा सजिएर आएका थिए ।

शपथग्रहण कार्यक्रमका लागि बुटवलको उद्योग वाणिज्य संघलाई विशेषरुपले सिंगारिएको थियो । प्रदेशप्रमुख र सांसदहरुको सुरक्षाका लागि शपथस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

शपथस्थलमा प्रदेशप्रमुख, प्रतिनिधि तथा प्रदेशसभा सदस्य, स्थानीय निकायका प्रमुख, संसदमा मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ–सस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रदेशस्तरीय प्रमुखलगायतको उपस्थिति थियो ।

शपथ लिएपछि प्रदेशसभा सदस्यहरु खुसी देखिएका थिए । उनीहरु विभिन्न सन्चारमाध्यममा अन्तर्वार्ता दिनेदेखि सेल्फी र फोटो खिच्नमै व्यस्त रहे ।

प्रदेश–५ का ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्रको संस्थागत विकासका साथै प्रदेशको समग्र विकासका लागि कृषि, पर्यटन, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा जोड दिने बताए ।

त्यस्तै, अरु प्रदेशसभा सदस्यहरुले प्रदेशको समग्र विकाससँगै विभिन्न निर्वाचन क्षेत्रमा देखिएका समाधानका लागि आ–आफ्नो ठाउँबाट काम गर्ने प्रतिबद्धता जनाए ।

प्रदेशसभाका प्रत्यक्षतर्फ निर्वाचित ५२ जना र समानुपातिकबाट निर्वाचित ३५ जना गरी ८७ जनाले शपथ लिने कार्यक्रम रहेपनि दुईजना समानुपातिक सांसद भने शपथग्रहण कार्यक्रममा अनुपस्थित रहे ।

शपथग्रहणमा नआउनेमा राजपा नेपाल रुपन्देहीबाट समानुपातिक सांसदकोरुपमा प्रतिनिधित्व गर्ने बिना पन्त र नेकपा एमाले अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने जल्पा भुसाल रहेका छन् ।

बुटवलमा प्रदेशप्रमुख कार्यालयसहित विभिन्न मन्त्रालय स्थापना हुने भएसँगै जिल्लाको सुरक्षा रणनीतिमा पनि हेरफेर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी श्याम ज्ञवालीले प्रदेशप्रमुख, सभामुख, उपसभामुख कार्यालय तथा विभिन्न मन्त्रालय रहने भएपछि जिल्लाको शुरक्षा व्यवस्था पनि त्यहीअनुरुप तयार पारिएको बताए ।

‘हाई प्रोफाइलको आवागमनलाई ध्यानमा राखेर हामीले नियमितको तुलनामा सुरक्षा व्यवस्था चुस्त बनाएका छौं’–उनले भने ।

प्रदेशप्रमुखको सचिवालय, संसद भवन, मन्त्रालयहरुका लागि प्रस्तावित भवन र आसपासमा सुरक्षा टोली खटाएको उनले बताए ।

बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मल लाकौलले प्रदेश राजधानी रुपन्देही भएसँगै ५ नम्बर प्रदेशले विकासमा गति लिने प्रतिक्रिया दिए ।