प्रदेश–७ को यस्तो छ, आर्थिक सम्भाव्यता (भिडियो) « Image Khabar


प्रदेश–७ को यस्तो छ, आर्थिक सम्भाव्यता (भिडियो)


Imagekhabar
७ माघ २०७४, आईतवार २०:४९

यो प्रदेश १९ हजार ५३९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । गरिबीदर उच्च रहेको यस प्रदेशका जनताको आम्दानी पनि सबैभन्दा कम छ ।

वार्षिक ६६३ डलर प्रतिव्यक्ति आम्दानी रहेको यस प्रदेशको मानव विकास सूचकांक पनि न्यून छ । मानव विकास सूचकांकमा ६ नम्बर प्रदेशभन्दामात्रै अघि छ, यो प्रदेश ।

जलस्रोत, प्राकृतिक सम्पदा, धार्मिकस्थल एवं पर्यटनले धनी मानिने यो प्रदेशमा देशभरकै झन्डै एक तिहाइ विद्युत् उत्पादन गर्नसक्ने क्षमता र देशकै सबैभन्दा ठूलो जडिबुटीको भन्डार पनि रहेको छ ।

जलविद्युत् उत्पादन क्षमतालेमात्र पनि यो प्रदेश सम्पन्न बन्नसक्ने विज्ञहरु बताउँछन् ।

प्रदेश–७ मा १० हजार मेगावाटको कर्णाली, ७ हजार ७८० मेगावाटको पञ्चेश्वर, ७५० मेगावाटको पश्चिम सेती, ३० मेगावाटको बूढीगंगा, ३० मेगावाटकै चमेलियासहित अपी हाइड्रोलगायतका साना तथा मझौला जलविद्युत् उत्पादनको प्रशस्त सम्भावना रहेको छ । ३३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता यस प्रदेशमा रहेको बताइन्छ ।

पर्यटनको पनि राम्रो सम्भावना भएको प्रदेश हो, यो । भारतीय सीमासँग नजिक रहेको यो प्रदेशले लाखौं भारतीय पर्यटक आकर्षण गर्नसक्छ ।

भारतबाट मानसरोवर यात्रा गर्ने सबैभन्दा छोटो, सुलभ र सस्तो मार्ग यस प्रदेशमा रहेको जानकार बताउँछन् ।

त्यस्तै, बाजुराको बढीमालिका, कैलालीको बेहेडाबाबालगायतका धार्मिकस्थलले लाखौंको संख्यामा पर्यटक आकर्षण गर्नसक्छन् ।

खप्तड राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुन्ज, अपी र सैपाल हिमाल यही प्रदेशमा छन् ।

घोडाघोडी ताल, उग्रतारा, शैलेश्वरी, त्रिपुरासुन्दरी, निगलासैनीलगायतका शक्तिपीठ पनि यसै प्रदेशमा छन् ।

दार्चुला, बझाङ र बाजुराका हिमाली भेगमा बहुमूल्य यार्सागुम्बा पाइन्छ । पाँचऔंले, केशरलगायतका अमूल्य जडिबुटी पनि यही प्रदेशमा छन् ।

यस प्रदेशमा रहेका भारत र चीनको नाकालाई सुक्खा बन्दरगाहमा विकास गर्नसकिए त्यसले यस प्रदेशको समृद्धिमा सघाउ पुर्‍याउने बताउँछन्, उपप्राध्यापक उमाकान्त जोशी । धार्मिक पर्यटनलाई पनि बढी महत्व दिनुपर्ने उनको सुझाव छ ।

कैलाली र कन्चनपुर तराईका दुई जिल्लामा धान, गहुँ, दलहनलगायतका खाद्यान्न उत्पादनमा राम्रो छ । यद्यपि, भौगोलिक कठिनाइ एवं दक्ष जनशक्ति भने यस प्रदेशको चुनौती रहेको उनको जोशीको बुझाइ छ ।

७ नम्बर प्रदेशको विकासका लागि भारत र चीनसँगको नाकाको अधिक प्रयोग गर्दै जलस्रोत र प्राकृतिक स्रोत–साधनको सदुपयोग एवं धार्मिक पर्यटनलाई प्राथमिकता दिनसके सबैभन्दा कम आम्दानी भएको यो प्रदेश उच्च आम्दानी गर्ने प्रदेशकारुपमा छिट्टै स्थापित हुनसक्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्