
बाम गठबन्धन कायम रहिरहँदा सातै प्रदेशदेखि संघीय सरकारमा समेत प्रतिपक्षमा बस्ने अवस्थामा पुगेको नेपाली कांग्रेसलाई गठबन्धन फुटाउन खोजेको पनि लाग्न थालेको छ ।
तर कांग्रेसभित्रै भने अहिले बाम गठबन्धन तोड्ने प्रयत्न गर्न नहुने दबाब बढेको छ ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका परिणामहरु सार्वजनिक भए लगत्तैदेखि एमाले र माओवादी केन्द्रका नेताहरुले कांग्रेस बाम गठबन्धन तोड्न लागिपरेको आरोप लगाउँदै आएका छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमै बसेका कतिपय मन्त्रीका अभिव्यक्तिले पनि यो आरोपलाई थप मलजल गरेको छ ।
अझ पछिल्लो समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस गठबन्धन तोड्न लागे पनि सम्भव नहुने बताएपछि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम पुगेर ‘खै बहुमत ? कसलाई सरकार सुम्पने ?’ भन्ने अभिव्यक्ति दिएर बाम गठबन्धन तोड्न प्रयास गरिरहेको संकेत पनि गरेकै थिए ।
एमाले र माओवादी केन्द्रका नेताहरुले विभिन्न माध्यमबाट आफूहरुलाई भड्काउन कांग्रेस लागि परेको आरोप अहिले पनि लगाइ नै रहेका छन् ।
स्वाभाविक रुपमा राजनीतिक घटनाक्रम बढ्यो भने कांग्रेस ६ वटा प्रदेशसहित संघीय सरकारमा पनि प्रतिपक्षमा हुनेछ भने २ नम्बर प्रदेशमा प्रमुख प्रतिपक्षी बन्ने अवसरबाट पनि विमुख रहन्छ ।
तर पनि कांग्रेस प्रति चलखेलको आरोप कायमै छ र उसका कतिपय नेताहरुको गतिविधि पनि त्यस्तै छ । तर, कांग्रेसको संस्थागत निकायमा भने सरकार गठनमा चलखेल गर्नेबारे अहिलेसम्म कुनै छलफल भएको छैन ।
केही दिनअघिको केन्द्रीय समिति बैठकमा पनि यसबारे चर्चा भएको थिएन । नेतृत्व तहको अन्तरमन बाम गठबन्धन फुटाउन सकिन्छ कि भन्ने भए पनि त्यसलाई सार्वजनिक गर्ने आँट कसैले गर्न सकेको छैन ।
कांग्रेसका बहुसंख्यक केन्द्रीय सदस्यहरु भने अहिले गठबन्धन तोड्ने प्रयास गर्न नहुने पक्षमा छन् ।
संघीय सरकारदेखि प्रादेशिक सरकारसम्म नै चलखेल गर्न नहुने र गर्ने मुडमा पनि नरहेको बताउँछन् कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँड ।
कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको भनि बाहिर गलत प्रचार भएको उनको भनाइ छ ।
कांग्रेसकै अर्का नेता डा.नारायण खड्काले पनि जनताले बामगठन्धनलाई सरकार बनाउने जनादेश दिएकाले आफ्नो पार्टी तत्काल सत्ताको चलखेलमा नलाग्ने बताउँछन् ।
लामो समयसम्मको राजनीतिक अस्थिरताका कारण जनताले स्थिरताको नारा दिएको बाम गठबन्धनलाई सरकार बनाउने म्यान्डेड दिएका छन् ।
त्यसैगरी कांग्रेसलाई प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बलियो जनादेश पनि दिएका छन् ।
यो अवस्थामा कांग्रेस पुनः सत्ताको चलखेलमा लागे देशको राजनीतिक अस्थिरता त लम्बिन्छ नै कांग्रेस स्वयम्को भविष्यसमेत जोखिममा पर्ने तर्फ नेतृत्वले ध्यान दिनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्