२३ जेष्ठ २०८२, शुक्रबार | Sat Jun 7 2025


कांग्रेसले चारओटा प्रदेशमा उम्मेदवार टुंगो लगायो (नामावली)


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहानदेखि जारी पार्टी पदाधिकारी बैठकले प्रदेश नम्बर–४, ५, ६ र ७ मा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको पार्टी कार्यालयले जनाएको छ ।

बैठकले प्रदेश नम्बर–४ मा सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा रानामगर (महिला), जीतबहादुर नेपाली (दलित), प्रकाश पन्त (अपांगता), प्रदेश नम्बर–५ मा दुर्गाप्रसाद उपाध्याय (खुला), अनिता देवकोटा (महिला), मैकुलाल वाल्मीकी (दलित), लुटबहादुर खत्री (अपांगता)लाई उम्मेदवार बनाएको हो ।

त्यस्तै, कांग्रेसले प्रदेश नम्बर–६ मा विष्णुबहादुर शाही (खुला), सूर्यदेवी मल्ल (महिला), सीताराम विक (दलित), गोपाल शर्मा (अपांगता)लाई उम्मेदवार बनाएको छ ।

यसअघि, पार्टीले सोमबार प्रदेश नम्बर–७ बाट बद्री पाण्डे (खुला), तारादेवी भट्ट (महिला), धर्मराज जोशी (अपांगता), र शेरीराम पार्की (दलित)लाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

कांग्रेसले बाँकी प्रदेश नम्बर–१, २ र ३ मा पनि मंगलबारै पार्टीका उम्मेदवारको टुंगो लगाइसक्ने जनाएको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिकाअनुसार आइतबार सातओटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिसकेको छ ।

आयोगको तालिकाअनुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ ।

कांग्रेसले निर्वाचनमा विभिन्न प्रदेशमा फरक–फरक दलसँग सहकार्यका लागि छलफलसमेत जारी राखेको छ ।

कांग्रेसले प्रदेश नम्बर–२ मा मधेसकेन्द्रित दलसँग, प्रदेश नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा प्रजातान्त्रिक र विवेकशील साझा पार्टीसँग सहकार्य गर्ने सम्भावना छ । रासस