
मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकलाई ११५ रनले हराउँदै खलंगा फाइनलमा पुगेको हो ।
यस्तै, मंगलबारै भएको पहिलो सेमिफाइनलमा दशरथचन्द नगरपालिका–६ थालिगाडालाई ४ विकेटले स्तब्ध पार्दै देहिमाडौं उपाधिनजिक पुगेको हो ।
बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा टस जितेर पहिले ब्याटिङ गरेको खलंगाले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १६८ रन बनायो । भरत चन्दले सर्वाधिक ४४, मोहित भण्डारीले २६ तथा महेश चन्दले २४ रनको योगदान गरे ।
१६९ रनको विजय लक्ष्यका साथ मैदानमा उत्रेको ग्वाल्लेक १४.३ ओभरमा ५३ रनमा समेटियो । पिताम्बर जोशीले १४ रन बनाउनुबाहेक अरु ब्याट्सम्यान चल्न सकेनन् ।
ग्वाल्लेकको पारी ध्वस्त पार्नेक्रममा खलंगाका लागि ‘म्यान अफ द म्याच’ घोषित सुरज बोहराले ४ विकेट लिए ।
यसअघि, मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा थालिगाडालाई ४ विकेटले पराजित गर्दै देहिमाडौंले फाइनल यात्रा तय गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको थालिगाडाले २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । चन्दन रावलले ३४ तथा किशोर चन्दले २० रन जोडे ।
जवाफमा १३६ रनको विजयी लक्ष्य देहिमाडौंले १९.१ ओभरमा पूरा गर्यो । दीपक बोहराले सर्वाधिक ३७ रनको योगदान गरे । थालिगाडाका दीपेन्द्र रावलले २ विकेट लिए ।
अविजित २२ रन तथा २ विकेट लिएका देहिमाडौंका ऋषिकेश बोहरा खेलको म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको उपाधि भिडन्त बुधबार बिहान १० बजेदेखि सुरु हुने नगर क्रिकेट समितिका अध्यक्ष अशोकबहादुर चन्दले जानकारी दिए ।
उपाधि विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
दशरथचन्द नगरपालिकाको आयोजना, बैतडी जिल्ला क्रिकेट संघ र नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा माघ ३ गतेदेखि प्रतियोगिता सन्चालन भइरहेको हो ।
प्रतिक्रिया दिनुहोस्