
पश्चिम नेपालबाट मंगलबार रातिदेखि पानी पर्न सुरु गरेकोमा बिहीबारदेखि नै मौसममा सुधार आउने जनाइएको छ ।
पश्चिमी वायुको प्रभावका कारण मंगलबार रातिदेखि देशका विभिन्न भागमा पानी परेको र योक्रम पश्चिमबाट पूर्वतर्फ सर्दै गएको मौसमविद्हरुले बताएका छन् ।
वर्षा गराउने वायुचक्र पश्चिमबाट प्रवेश गरेकाले मध्य र पूर्वी क्षेत्रको तुलनामा पश्चिम भागमा धेरै पानी परेको र हिमपात पनि भएको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
उनले मध्य र पश्चिम भागको मौसम खुलिसकेको र बिहीबार (भोलि)सम्ममा सबै क्षेत्रको मौसम खुल्ने बताए ।
सामान्यतः हिउँदमा उपत्यकामा १४ मिलिलिटर वर्षा हुनुपर्नेमा यो हिउँदमा पहिलोपटक वर्षा भएको र त्यो पनि २ मिलिलिटरमात्र पानी परेको पनि पौडेलले बताए ।
सबैभन्दा बढी डडेल्धुरामा १२ मिलिलिटर वर्षा भएको छ भने धनगढीमा ७ मिलिलिटर र दाङमा ३ मिलिलिटर पानी परेको छ ।
मौसमविद् पौडेलले अब केही दिन बिहानमा अलि चिसो बढी हुने भएपनि दिउँसोमा घाम चर्कने र केही दिनपछि गर्मी बढ्दै जाने बताए ।
प्रतिक्रिया दिनुहोस्