
निर्माणका लागि खनिएको सडकमा धुलाम्मे हुँदा सडक छेउछाउका बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परेको छ ।
भक्तपुरको कमलविनायकदेखि भत्केकोपाटी हुँदै नगरकोटखण्डको १६ किलोमिटर मुख्य सडक विस्तारमा ढिलाई भएको हो ।
२०७१ जेठमा सम्झौता गरि निर्माण कार्य शुरु गरेको शैलुङ्ग कन्ष्ट्रक्सन प्रा.लि.ले आर्थिक बर्ष ०७२/०७३ मै निर्माण सम्पन्न गरिसक्ने एक्जिम बैंक इन्डियाको सहयोगमा २८ करोडको लागतमा सडक विस्तार कार्य शुरु गरेको थियो ।
दुई बर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने ठेक्का सम्झौता गरेर निर्माण कार्य शुरु भएपनि सडकखण्डको काम चार बर्षमा पनि सम्पन्न हुन सकेको छैन ।
निर्माणका लागि खनिएको सडकमा घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुँदा सडक छेउछाउका बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परेको स्थानीय बताउँछन् ।
सडक विस्तारमा भएको ढिलाइका कारण सडक थप धराप बनेका छन् । खाल्डाखुल्डी धेरै हुँदा सवारी साधन बाटैमा बिग्रने र दुर्घटनामा बृद्धी भएको सवारी चालकहरुको गुनासो छ ।
निर्माणको समयमा जग्गा मुअब्जा विवाद, भूकम्पको समस्या, नाकाबन्दीमा सामानको अभाव, रुख कटानी सहमती, बिजुली पोल सार्ने र अन्य प्राविधिक समस्या देखाउदै निर्माण कम्पनीले ०७४ मंसिरसम्ममा आयोजना सम्पन्न गरिसक्ने भन्दै निर्माणको अवधी थप गरेको थियो तर थप गरेको समयसिमा समाप्त भइसक्दा ४० प्रतिशत काम मात्र पुरा भएको छ ।
१६ किलो मिटर सडकखण्डमा ग्राभेलिङ्ग गर्ने र कालोपत्रे गर्ने कार्य पुरै बाँकी छ । अवको ६ महिनाभित्रमा आयोजनाको काम सम्पन्न गरिसक्ने दाबी भक्तपुर–नगरकोट सडक विस्तार आयोजनाका इन्जिनियर विजय प्रजापतिको छ ।
सडक सुधार आयोजनाका कन्सल्टेन्ट प्रमुख नरेशबाबु श्रेष्ठले ठेकेदारकै लापरबाहीका कारण सडक विस्तारमा ढिलाइ भएको बताए ।
सडक विस्तारमा भएको ढिलाइका कारण पर्यटकीय गन्तव्य नगरकोटको पर्यटन व्यवसाय समेत धरासायी बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्