
प्रदेशको राजधानी जुनसुकै स्थानमा भएपनि राजधानी भएको ठाउँमा सबै मन्त्रालय तथा कार्यालयहरु हुन नहुने उनको भनाइ छ ।
बिहीबार बाँकेको नेपालगन्जमा प्रादेशिक महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले राजधानीबारे आफ्नो फरक धारणा रहेको भन्दै कार्यालयहरु समानुपातिकरुपमा वितरण हुनुपर्ने बताए ।
उनले प्रदेश–५ को राजधानी बाँके हुनुपर्छ भन्ने बाँकेवासीको माग आफूले शीर्ष नेतृत्वसमक्ष राख्ने आश्वसनसमेत दिए ।
अहिले तोकिएको मुकाम अस्थायीमात्र भएको र प्रदेशसभाले स्थायी राजधानी तोक्ने भन्दै अध्यक्ष दाहालले यदि नेपालगन्ज राजधानी नभए मन्त्रालय र ठूला कार्यालय राख्न पहल गर्ने उल्लेख गरे ।
उनले नेपालगन्ज ऐतिहासिक महत्वको सहर रहेको पनि बताए ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बाँकेलाई औद्योगिक राजधानीकोरुपमा विकास गरिनुपर्नेमा जोड दिइन् ।
आर्थिक समृृद्धिका लागि स्थायी सरकार आवश्यक रहेको भन्दै उनले अब बन्ने सरकारले आर्थिक समृद्धिका लागि औद्योगिक क्षेत्रको विकासमा विशेष पहल गर्नुपर्ने बताइन् ।
कार्यक्रममा बोल्ने प्रतिनिधि तथा प्रदेशसभा सदस्यसहितका वक्ताहरुले नेपालगन्जलाई प्रदेश राजधानी बनाउनुपर्ने माग गरेका थिए ।
महोत्सवको उद्घाटनअघि नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयबाट हात्तीसहितको कलशयात्रा निकालिएको थियो । सोक्रममा हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो ।
आगामी माघ २२ गतेसम्म नेपालगन्जस्थित सडक डिभिजन परिसरमा सन्चालन हुने महोत्सवमा ३२१ स्टल रहेका छन् ।
५ लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवबाट १ करोड रुपैयाँभन्दा बढी रकम बचत गर्ने लक्ष्य लिइएको महोत्सव आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ सदस्य बसन्त लामिछानेले बताए ।
प्रतिक्रिया दिनुहोस्