
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले शुक्रबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा ७७ किमि थोक वितरण प्रणालीमध्ये ६७ किमि पाइप बिच्छ्याइसकिएको जानकारी दिइयो ।
यसैगरी, ६७० किमि वितरण सञ्जालमध्ये ६४४ किमि पाइप बिच्छ्याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए ।
बजेट अभावका कारण धुम्बाराही–महाराजगन्ज–सामाखुसी–कलंकी क्षेत्रको ३०० किमि क्षेत्रमा वितरण सञ्जाल स्थापना हुन सकेको छैन । यो क्षेत्रमा पाइप बिच्छ्याउन रु ८ अर्ब बढी बजेट आवश्यक पर्नेछ ।
बजेटका लागि एसियाली विकास बैंकसँग कुरा भइरहेको निर्देशनालयले जनाएको छ ।
पाइप बिच्छ्याउन भत्काइएको सडकमध्ये ६१ किमि सडक विभागलाई कालोपत्रका लागि सम्झौता भइ काम सुरु भएको छ । विभागले रु ८५ करोडको लागतमा निर्माण एवं कालोपत्र गर्नेछ ।
१०० किमि सडक निर्माण एवं कालोपत्र भने निर्देशनालय आफैंले गर्नेछ । यसको लागत रु एक अर्ब छ । भत्काइएकामध्ये २८ किमि सडक निर्माण सम्पन्न भएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकादेखि काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलसम्मको २७.५ किमि दूरी सुरुङमध्ये अब ३०० मिटरमात्र खन्न बाँकी छ ।
सुरुङको ३०० मिटरको काम सकेरभित्रको कामलाई अन्तिमरुप दिइ चैत १५ अर्थात् मार्चको अन्तिमसम्ममा पानी उपत्यकामा खसाल्ने मेलम्ची खानेपानी आयोजनाको लक्ष्य छ ।
उपत्यकामा पानी वितरण गर्न ८४ हजार २१७ घरमा धारा जडान गर्नुपर्नेमा हालसम्म ४५ हजार १८६ घरमा धारा जडान भइसकेको प्रवक्ता ढकालले सुनाए ।
सुन्दरीजलमा ८ करोड ५० लाख लिटर पानी प्रशोधनका लागि अत्याधुनिक प्रशोधन केन्द्र निर्माण भइसकेको छ । अर्को ८ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।
पहिलो चरणमा मेलम्चीखोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ । दोस्रो चरणमा यांग्री र लार्केखोलाको १७/१७ गरी ३४ करोड लिटर पानी ल्याउने तयारी भइरहेको छ ।
मेलम्चीको पानी आएपछि उपत्यकावासीलाई दैनिक पाँच घन्टासम्म र यांग्री र लार्केखोलाकोसमेत गरी दैनिक ५१ करोड लिटर पानी आउन थालेपछि २४सै घन्टा पानी वितरण गर्ने निर्देशनालयको लक्ष्य छ । रासस
प्रतिक्रिया दिनुहोस्