
अक्कल कुँवर र भरत केसी (इमेज)
काठमाडौं, मंसिर २३ । सचिवालयका ९ जना सदस्यमध्ये चारजनाले शनिबार (हिजो) बोलाइएको पार्टी सचिवालयको बैठक बहिस्कार गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद सतहमा आएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले निर्धारित् समयमा पार्टी अध्यक्षहरु बैठकमा उपस्थित नभएको भन्दै बहिस्कार गरेका हुन् ।
उक्त घटनालाई पार्टीभित्रको चरम असन्तुष्टिको संकेतकारुपमा लिइएको छ ।
पार्टीको बैठक बोलाउने, पटक–पटक स्थगित गर्ने र बैठक बस्ने दिन पनि लामो समय पर्खाएर अपमान गर्ने परम्परा बसेको भन्दै चारजना सचिवालय सदस्यले बैठक बहिस्कार गरेपछि नेकपाभित्र नेतृत्वप्रतिको असन्तुष्टि सतहमा आएको हो ।
सचिवालयलाई सर्वाधिकार सम्पन्न बनाएको, संगठनात्मक तथा राजनीतिक निर्णय दुई अध्यक्षमामात्र केन्द्रित गरेको र अन्तरिम विधानअनुसार पार्टीका नियमित बैठक नबोलाएकोमा केही समयदेखि सचिवालय, स्थायी र केन्द्रीय समिति सदस्यहरु असन्तुष्ट थिए ।
चारजना सचिवालय सदस्यहरुको बैठक बहिस्कारलाई त्यही असन्तुष्टि प्रकटकारुपमा अर्थ्याइएको छ ।
साविक नेकपा एमालेका वरिष्ठ नेता भरतमोहन अधिकारीले चारजना सचिवालय सदस्यहरुको कदमबाट पार्टी नेतृत्वले पाठ सिक्नुपर्ने बताए ।
पार्टी सन्चालनको विधि, प्रक्रियाबारे नेतृत्वलाई सचेत पारेर व्यवस्थित र विधिसम्मत् ढंगले सन्चालन गराउनका लागि नै बैठक बहिस्कारको निर्णय लिएको जिकिर चारजना सचिवालय सदस्यको छ ।
नेतृत्व पक्ष र असन्तुष्ट पक्षले जे–जस्तो तर्क गरेपनि पार्टी नेतृत्वको कार्यशैली र सांगठनिक एकताप्रतिको असन्तुष्टिको पछिल्लो घटना सचिवालय बैठक बहिस्कार हो ।
पार्टीलाई संस्थागत ढंगले सन्चालन गर्नु अपरिहार्य रहेको भन्दै नेता अधिकारीले पार्टीभित्रका असन्तुष्टिलाई आगामी स्थायी कमिटीको बैठकले सम्बोधन गर्न सुझाव दिए ।
नेकपा सचिवालयमा केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्यूरो गठन, जिल्ला र जनसंगठनहरूको एकीकरण, सरकार र पार्टी सन्चालनसम्बन्धी समीक्षा, संसद सन्चालन, पार्टी कार्यालय व्यवस्थापनसहित झन्डै एक दर्जन एजेन्डा थाती छन् ।
तर, शनिबारको बैठक बहिस्कारको घटनाले यी एजेन्डा अझै थाती रहने सम्भावना बढेको छ ।
सचिवालयमा छलफल गरेर स्थायी समितमा लैजानुपर्ने एजेन्डाहरु पनि अब सीधै स्थायी कमिटीमा छलफल हुने आशंका असन्तुष्ट पक्षको छ ।
प्रतिक्रिया दिनुहोस्