
गृष्मा राजभण्डारी र देवेन्द्र महर्जन (इमेज)
काठमाडौं, मंसिर २३ । काठमाडौं, गोंगबुको मित्रनगरबाट अपहरणपछि हत्या गरिएका ८ वर्षीय बालक प्रयास कुँवरको हत्या भएको १३ दिन पुगेको छ ।
हत्यामा संलग्न भनिएका मिलन सार्कीलाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रयास कुँवरको हत्या गरिएको भोलिपल्ट पक्राउ परेका मिलनलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट प्रहरीले १५ दिन न्यायिक हिरासतमा राख्न म्याद लिएको थियो ।
यो म्याद आइतबार सकिएपछि प्रहरीले थप अनुसन्धानका लागि थप १५ दिनको म्याद लिएको छ ।
बयानकाक्रममा सार्कीले अपहरण गरी बालकको हत्या आफैंले गरेको स्वीकारीसकेका छन् । उनले यो घटनामा अरु कोहीपनि संलग्न नभएको बताउँदै आएका छन् ।
तरपनि अरु कसैको संलग्नता छ कि भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
आमा–बाबुलाई पनि अरु कसैको संलग्नताको आशंका
यता, प्रयासका आमा–बाबु पनि सार्की एक्लैले अपहरण गरी हत्या गरेको मान्न तयार छैनन् । उनीहरुलाई पनि यसमा अरु कसैको संलग्नता छ भन्ने आशंका छ ।
त्यसैले उनीहरु प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान गरे थप अभियुक्त पत्ता लाग्ने बताउँछन् ।
प्रयासका बाबु प्रवीण कुँवरले अभियुक्त सार्की आफ्नो गाडी चालककारुपमा कार्यरत् रहँदा निकै इमान्दार रहेको बताउँदै छोराको हत्यामा अरु कोही संलग्न भएको आशंका गर्छन् ।
शोकमा रहेका उनीहरु छोराको अन्तिम संस्कारमासमेत संलग्न हुन सकेनन् ।
विश्वास गरेर आफैंले राखेको ड्राइभर सार्कीले किन छोराको हत्या गर्यो ? भन्ने एकिन जानकारी नपाएकाले उनीहरुको पीडा जस्ताको तस्तै छ ।
परिवारजनले अनुसन्धान तीव्र बनाइ घटनाको सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्