
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा ललितपुर प्याट्रियट्सले चितवन टाइगर्सलाई पराजित गरेको छ ।
टियु क्रिकेट मैदानमा आज भएको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले पृथु बास्कोटाको कप्तानीमा रहेको चितवनलाई ११ रनले हरायो ।
खेलमा ललितपुरले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्रै बनाउन सक्यो ।
चितवनका दिपेन्द्र सिंह ऐरीले ४१ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् । चितवनलाई सस्तैमा समेट्न लतिपुरका सन्दिप लामिछानेले ३ तथा सन्नी पटेलेले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।
ललितपुरका लागि सोनु तामाङले अविजित ३५ रनको योगदान दिंदा गौरव तमोरले ३० रन जोडे ।
ईपिएल क्रिकेटमा आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज भिड्नेछन् ।
भैरहवाको कप्तानी शरद भेषावकरले गरेका छन् भने पोखराको कप्तानी स्कटल्याण्डका खेलाडी कायल कोएट्जरले गर्दैछन् ।
यसअघि पोखराको कप्तानी नेपालका भेट्रान खेलाडी शक्ति गौचनले समाल्दै आए पनि यसपटक स्कटल्याण्डको राष्ट्रिय क्रिकेट टोलीका कप्तान कोएट्जरलाई जिम्मा दिइएको हो ।
प्रतिक्रिया दिनुहोस्