कपिलवस्तुमा कुष्ठरोगीको संख्या बढ्यो • Image Khabar Image Khabar


कपिलवस्तुमा कुष्ठरोगीको संख्या बढ्यो


Imagekhabar
१५ माघ २०७४, सोमबार १५:२७

कपिलवस्तुमा कुष्ठरोगीको संख्या बढ्यो

यो वर्ष जिल्लाका साविकका ३५ ओटा गाविसमा सन्चालन गरिएको कुष्ठरोग नियन्त्रण अभियानकाक्रममा ७७ जना नयाँ कुष्ठरोगका बिरामी फेलापरेका जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

गत वर्ष कपिलवस्तुमा ७१ जना कुष्ठरोगका बिरामी फेलापरेका थिए ।

यो वर्ष अभियान सन्चालनपश्चात् ७७ जना नयाँ कुष्ठरोगी फेलापरेको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका क्षयकुष्ठ अधिकृत मोहम्मद इरफानले बताए ।

गत वर्षको तुलनामा यो वर्ष कपिलवस्तुमा कुष्ठरोगीको संख्या झन् बढेको हो । यससँगै जिल्लामा १४८ जना कुष्ठरोगीका बिरामी फेलापरेका छन् ।

स्वास्थ्य कार्यालयको आयोजनामा यही माघ ८ देखि १० म्म साविकका २६ गाविसमा तथा फेयरमेडले साविकका ९ गाविसमा एक महिनाअघिदेखि अभियान सन्चालन गरेको थियो ।

२६ गाविसमा ४७ जना र ९ गाविसमा ३० जना नयाँ कुष्ठरोगी फेलापरेका हुन् ।

कुष्ठरोगलाई अझैपनि नेपाली समाजमा लाज तथा भयको विषय बनाइएका कारण मानिसहरुले रोग लुकाएर बस्ने गरेको इरफानले बताए ।

शरीरमा लाटो–फुस्रो दाग तथा गिर्खा देखिनु, स्नायु दुख्नु, हातखुट्टा झमझमाउनु, कानको लोती बाक्लो हुनु र आँखीभौं झर्नु कुष्ठरोगको लक्षण हो ।

रोगले विकराल रुप लिनुअगावै औषधि सेवन गरे कुष्ठरोगबाट छुटकारा पाउनसकिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्रप्रसाद भगतले बताए ।

सरकारले यस रोगको औषधि सेवन गर्ने बिरामीलाई प्रोत्साहनस्वरुप एक हजार रुपैयाँ भत्तासमेत दिँदै आएको छ । स्वास्थ्य संस्थामा कुष्ठरोगको औषधि निःशुल्क पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्