
मुख्यमन्त्री छनोटको मापदन्ड तय गर्न एमालेले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ ।
एमालेको भागमा परेका ४ प्रदेश मुख्यमन्त्रीमध्ये प्रदेश नम्बर–५ को मुख्यमन्त्रीमा स्थायी कमिटी सदस्य शंकर पोखरेल सर्वसम्मत् हुने निश्चित छ ।
तर, प्रदेश नम्बर–५ बाहेक एमालेको भागमा परेका अरु तीनओटा प्रदेशको मुख्यमन्त्री छान्न एमालेभित्र सकस देखिएको छ । यी प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी धेरै भएकाले मुख्यमन्त्री छनोटमा समस्या देखिएको हो ।
आकांक्षी धेरै भएपछि एमालेले प्रदेशसभा संसदीय दलको चुनाव गर्ने र जो संसदीय दलको नेता चुनिन्छ, उसैलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ ।
एमाले सचिव प्रदीप ज्ञवालीले मुख्यमन्त्री छनोटको मापदन्ड तोक्ने र सहमति हुन नसके चुनावबाट मुख्यमन्त्री चयन हुने बताए ।
प्रदेश नम्बर–५ मा मुख्यमन्त्रीको दाबेदार संसदीय दलको नेता छानिएकाले अब अरु प्रदेशमा पनि त्यही नजिर स्थापित गर्ने तयारी एमालेको छ ।
प्रदेशसभा पहिलो बैठक बस्नुअघि नै सकेसम्म सहमतिमा संसदीय दलको नेता चयन गर्न ‘सर्कुलर’ जारी भइसकेको ज्ञवालीले जानकारी दिए ।
एमालेको भागमा परेको प्रदेश–१ मा पूर्वसन्चारमन्त्री शेरधन राई र पूर्वपर्यटनमन्त्री भीम आचार्य मुख्यमन्त्रीको दौडमा छन् ।
प्रदेश–३ मा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र केशव स्थापित मुख्यमन्त्रीको दौडमा छन् ।
प्रदेश–४ मा भने किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीको दौडमा छन् ।
एमाले र माओवादी केन्द्रबीच भएको भागबन्डाअनुसार प्रदेश नम्बर–६ र ७ माओवादी केन्द्रको भागमा परेको छ ।
तर, आफ्नो भागमा परेका दुई प्रदेश मुख्यमन्त्रीका लागि माओवादी केन्द्रले पनि सर्वसम्मत् गर्न सकेको छैन ।
माओवादी केन्द्रको भागमा परेको प्रदेश–६ को मुख्यमन्त्रीका लागि पूर्वमन्त्री महेन्द्रबहादुर शाही र नरेश भण्डारीले दाबी गरिरहेका छन् ।
यस्तै, प्रदेश नम्बर–७ मा वीरभान चौधरी र झपड बोहरा प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस्