Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


अमेरिकामा ग्लोबल नेपाली फिल्म तथा सोसल मिडिया अवार्ड हुने


0
Shares

अमेरिका । नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्ने उदेश्यले अमेरिकाको नर्थ क्यारोलिनामा ग्लोबल नेपाली फिल्म, म्यूजिक, मिडिया तथा सोसल अवार्ड २०१८ आयोजना हुने भएको छ ।

यहि डिसेम्बर २२ तारिक हुने सो कार्यक्रममा सम्पूर्ण नेपाली तथा नेपालीभाषी मनहरुलाई एउटै मन्चमा सम्मान र प्रोत्साहन प्रदान गर्ने उद्धेश्यले आयोजना हुन लागेको आयोजक संस्था लभ एक सर्पोट फाउण्डेसनका निर्देशक एवं अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघका महासचिव शिब विष्टले बताए ।

नयाँ बर्ष सन् २०१९ को अवसरमा लभ एण्ड सपोर्ट फाउन्डेशनको अयोजना तथा ग्लोबल नेपाली फिल्म एण्ड म्युजिक एलएलसीको सहकार्यमा “नेपाली चलचित्र, संगीत, सञ्चार र संस्कृतिको पहिचान र प्रवर्धनका लागि हाम्रो सामुहिक अभियान भन्ने नारा तय भएको विष्टले नागरिकन्यूजलाई बताए ।

आयोजकले अमेरिकामा यसरी एकै पटक चलचित्र, संगीत, संचार तथा सामाजिक क्षेत्रमा योगदान गर्नेहरुका लागी सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको सम्भवत यो प्रथम तथा ऐतिहासिक  हुने बताएका छन् ।

पहिले पहिले हुने यस्ता कार्यक्रममा नेपालबाट कलाकार ल्याएर गरिने भएतापनि यस पटक अमेरिका रहेका ठुलो सख्यामा कलाकारहरुलाई एकै थलोमा जम्मा गरी सम्मान गर्नेे तयारीले कलाकारिता क्षेत्रका व्यक्तित्वहरुमा खुसीयाली छाएको चर्चित फिल्म निर्देशक नारायण पुरीले खुसी व्यक्त गरे ।

यस्ता कार्यक्रमले प्रवासमा रहे पनि विभिन्न व्यक्तिहरुमा रहेको कलाकारिता प्रष्फुटन हुने र भईरहेको कलाकारिताको संरक्षणमा सहयोग पुग्ने भएकोले यस कार्यक्रमको निकै महत्व भएको बताए ।

नर्थ क्यारोलिनाको सुन्दर रानी शहर सार्लोटमा हुने कार्यक्रममा अमेरिकामा रहेका चार दर्जन जति कलाकारहरुको उपस्थिति हुने छ ।

अमेरिकामा छरिएर रहेका नेपाली  तथा नेपालीभाषी कलाकार, श्रस्टारसर्जक, अभियन्ता एवं संचारकर्मीहरुलाई एकताबद्ध गर्दै सम्मान एवं प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना हुन लागेकोले तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था लभ एण्ड सपोर्ट फाउन्डेशनका अध्यक्ष  एवं अवार्ड वितरण समारोहका संयोजक मनोज राईले बताए । कार्यक्रममा अमेरिकामा रहेर विभिन्न क्षेत्रमा समाजसेवा गरिरहेका व्यक्तिहरुको पनि उपस्थिति हुने संयोजक राईले बताए ।

कार्यक्रम समन्वय समितिका संयोजक तथा चलचित्र निर्देशक शंकर घिमिरेका अनुसार क्यानडा, नेपाल, सिंगापुर, हंगकंग, बेलायतलगाएतका देशहरुबाट कलाकारहरुले सहभागिता जनाउने छन ।

सो कार्यक्रममा भारत तथा भूटानि मूलका एवं नेपालका प्रसिद्ध कलाकारहरु तथा संचारकर्मीहरुको उपस्थिती हुनेछ । हालसम्मको प्रगति बिवरण अनुसार अत्यन्तै उत्साह पूर्णरुपले अघि बढी रहेको सो प्रमुख अतिथिको रुपमा अमेरिकाका लागि नेपाली राजदुत महामहिम डा. अर्जुन कुमार कार्कीको उपस्थिति हुने तथा बिशेष अतिथिको रुपमा महावाणिज्यदुत तथा बरिस्ठ लोक गायक प्रेमराजा महत र महावाणिज्यदुत ऋषि प्रसाद ढकालले सहभागिता जनाउनेछन ।

कार्यक्रममा नेपालबाट संचारकर्मी एवं चलचित्र निर्देशक दिनेश डिसी, मेलोडी किङ्ग गायक यम बराल सहितको कलाकारको समुह आउने छन ।

अमेरिकामा रहेका वरिष्ठ कलाकारहरुमा नारायण पुरी, बन्नी प्रधान, महेन्द्र बुढाथोकी गणेश उप्रेती, बिक्रान्त बस्नेत, बाबु बोगटी, मुकेश आचार्य, सुधाँशु जोशी, किरण प्रताप केसी, दीपक त्रिपाठी, सारंगा श्रेष्ठ, पूजा चन्द, भुपेन्द्र न्यूपाने, उषा पौडेल, रञ्जना शर्मा, पार्वति राई, सरोज केसी र ऋचा घिमिरेले सहभागिता जनाउने निष्चित भएको निर्देशक विष्टले बताए ।

सो कार्यक्रमा लोकदोहोरी गायक राम प्रसाद खनाल, चर्चित हाँस्य प्यारोडी गायक  रतन सुवेदी, हाँस्य कलाकार नारायण त्रिपाठी, र गायकहरु बसन्त खड्का, कन्हैया सिंह परिवार, बिरही कार्की, भगवान भण्डारी, पासाङ शेर्पा, राजु लामा, लक्ष्मण पौडेल, प्रदिप घिमिरे, प्रणय राणा जबरा र चर्चित गायीकाहरु सपना श्री र अञ्जना गुरुङ, र निशा सुनारले प्रस्तुती दिनेछन् ।

कार्यक्रममा फिल्म, म्यूजिक, मिडिया र सोसल विधामा ख्याति कमाएका चार व्यक्तित्वलाई जीवनकाल उपलब्धि (लाईफ टाईम अचिभमेन्टबाट सम्मानित गरिदैछ ।

सो कार्यक्रमलाई सम्पन्न गर्नका लागि १७ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । यस्ता कार्यक्रमले प्रवासमा रहे पनि आआफ्नो सस्कृति र सस्कारको संरक्षण गर्न सहयोग पुग्ने आयोजकले आशा व्यक्त गरेका छन ।