भोजपुरको टेम्के, मैयुँ, साल्पा, सिलिचुङ क्षेत्रलाई राम्रो सम्भावना बोकेका पर्यटकीयस्थलकारुपमा हेरिएको छ ।
तर, यी ठाउँमा पर्याप्त भौतिक पूर्वाधार विस्तार नभइसकेकाले अहिलेका लागि आन्तरिक पर्यटकका लागि सुन्तलेडाँडा भरपर्दो गन्तव्य बन्दै गएको छ ।
भोजपुर सदरमुकामदेखि करिब १० किलोमिटर टाढाको सुन्तलेडाँडा प्राकृतिकरुपमा निक्कै रमणीय रहेकाले पछिल्लो समय आन्तरिक पर्यटनको गन्तव्य बन्न थालेको हो ।
भोजपुर–दिङला सडकले छोएको यो क्षेत्रबाट मकालु, कन्चनजंघालगायतका हिमालका साथै अरुण नदी किनारको रमाइला दृष्यहरु देख्न सकिन्छ ।
घुम्नका लागि सन्तलेडाँडा पुगेका नेपाली कांग्रेसका महासमिति सदस्य हेमन्त मुकारुङले यस क्षेत्रलाई पर्यटकीय ‘हव’कारुपमा विकास गर्नसकिने बताए ।
यो डाँडामा सानो बस्तीसमेत भएकाले पर्यटकहरु घुम्न र मनोरन्जन गर्न पुग्ने गर्दछन् । यातायातको पहुँच विस्तार भएपछि पर्यटक आगमनको दर वृद्धि भएको स्थानीय बताउँछन् ।
चहलपहल बढेसँगै स्थानीयको व्यवसायसमेत फस्टाउन थालेको होटल व्यवसायी पासाङ डिक्की शेर्पा बताउँछन् ।
भोजपुर नगरपालिकाले पनि यो क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले सुन्तलेडाँडाको विकास गर्न गुरुयोजना बनाएर अघि बढ्ने बताए ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण भोजपुरलाई आत्मनिर्भर बनाउन र नगरपालिकाको आर्थिक समृद्धिका लागि सुन्तलेडाँडा राम्रो माध्यम बन्नसक्छ ।









प्रतिक्रिया दिनुहोस्