
काठमाडौं, मंसिर २२ । साविक विजेता विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको इपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा पारस खड्का नेतृत्वको विराटनगरले ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रियट्सलाई ३ विकेटले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाउँदै १०४ रन बनाएको थियो ।
ललितपुरका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४९ रन बनाउँदा सन्नी पटेलले १९ रनको योगदान दिए ।
बलिङतर्फ विराटनगरका करण केसी र भान डे मर्वेले २/२ विकेट लिए ।
जवाफमा १०५ रनको लक्ष्य विराटनगरले खेलमा एक बल बाँकी हुँदा ७ विकेट गुमाएर पूरा गर्यो ।
विराटनगरका लागि पुछारका खेलाडी करण केसीले विस्फोटक ब्याटिङ गरे । उनले १९ बलमा ३ छक्कासहित अविजित ३६ रन बनाए ।
बलिङतर्फ ललितपुरका गौरव तमोरले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्