२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रदेश–३ प्रदेशसभाको पहिलो ऐतिहासिक बैठकमा के भयो ? कसले–के भने ?


0
Shares

सात प्रदेशमध्ये धेरै सांसद (११० सदस्य) भएको प्रदेश नम्बर–३ को प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य डोरमणि पौडेलले बिहीबार हेटौंडामा बैठक प्रारम्भ गरेका थिए ।

प्रदेशप्रमुख अनुराधा कोइरालाबाट प्राप्त पहिलो अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएपछि दलका सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा मन्तव्य राखे ।

छलफलमा भाग लिँदै नेकपा एमालेका अष्टलक्ष्मी शाक्यले जनताले राजनीतिक स्थिरता, समृद्धि, सुशासन र न्यायका लागि जनादेश दिएकाले इमान्दारिता र जवाफदेहिताका साथ अघि बढ्न आग्रह गरिन् ।

उनले प्रदेश नम्बर–३ लाई नमुना बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिइन् । जनआकांक्षालाई पूरा गर्न यो सभा सक्षम हुने उनले विश्वास व्यक्त गरिन् ।

नेकपा माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेलले मुलुकको परिवर्तनका लागि पटक–पटक भएका आन्दोलन र प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक विकासका लागि सबै लाग्नुपर्ने बताए ।

नेपाली कांग्रेसका इन्द्र बानियाँले वीरगन्ज भन्सारसँग जोडिएको र काठमाडौं–हेटौंडा द्रुतमार्ग पनि बन्दै गरेकाले प्रदेशको राजधानी मकवानपुर नै वैज्ञानिक हुने बताए ।

उनले सहमति, सहकार्य र एकतासहित लोकतान्त्रिक मूल्य–मान्यताका साथ अघि बढ्न आग्रह पनि गरे ।

विवेकशील साझा पार्टीका रमेश पौडेलले राजनीतिक परिवर्तनको खोजीमा मुलुकले लामो समय व्यतित गरे पनि नयाँ संविधान प्राप्त भइसकेकाले अबको समय सहभागितामूलक लोकतन्त्रलाई व्यवहारमा उतार्न जोड दिइनुपर्ने बताए ।

नेपाल मजदुुर किसान पार्टीका सुरेन्दराज गोसाइँले प्रदेशहरुबीचको आपसी सम्बन्ध विस्तार गर्दै क्षेत्रीय र जातीय नाराभन्दा सन्तुलित विकास अबको गन्तव्य हुनुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका रीना गुरुङले एकात्मकबाट संघात्मक प्रणालीमा रुपान्तरित भएपनि संघीयतालाई मुलुकले थेग्न नसक्ने हो कि भन्ने शंका–उपशंका मेट्ने गरी काम गर्न सक्नुपर्ने विचार व्यक्त गरिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका रीता माझी र स्वतन्त्र (नयाँ शक्ति नेपाल) सांसद प्रेमबहादुर तामाङले प्रदेश सरकार छिटो चयन भइ जनताका आशा–अपेक्षा पूरा गर्ने तदारुकता देखाइनुपर्नेमा जोड दिए ।

बैठकले प्रदेशसभा सन्चालन नियमावली नबनेसम्मका लागि दलीय सहमतिका आधारमा तयार गरिएको प्रदेशसभा कार्यसन्चालन अन्तरिम कार्यविधि, २०७४ लाई सर्वसम्मतिले पारित गर्‍यो ।

सभामुखको निर्वाचन २७ गते
बैठकले प्रदेशसभाको अन्तरिम सभामुखको निर्वाचनका लागि यही माघ २७ गते निर्धारण गरेको छ ।

सो निर्वाचनका लागि आवश्यक कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई जिम्मेवारी दिइएको छ ।

बैठकमा ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि रामेश्वर फुयाँल, धनश्याम दाहाल, गीता शाक्य र शोभा वाग्लेलाई मनोनयन गरिएको छ ।

प्रदेशसभाको अर्काे बैठक यही माघ २७ गते सोमबार दिउँसो ३ बजे बस्नेछ ।