२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नयाँपुस्ताको अत्याधुनिक राडार सन्चालनमा, ‘७५ प्रतिशत हवाई स्पेस निगरानीमा’


0
Shares

ललितपुरको भट्टेडाँडामा राखिएको इनरुट मोनोपल्स सेकेन्डरी सर्भिलेन्स राडार (इएमएसएसआर) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको टर्मिनल मोनोपल्स सेकेन्डरी सर्भिलेन्स राडार (टीएमएसएसआर) प्रयोगमा ल्याइएको हो ।

यी दुईओटा राडारको प्रयोगले हवाई उडान थप सुरक्षित एवं व्यवस्थित भएको नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले बताए ।

‘इनरूट राडार’ले २५० नटिकल माइल रेडियस अर्थात् ४५० किलोमिटर दूरीसम्म नेपाली आकाशमा उडेका विमानको निगरानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरेको छ ।

उच्च हिमाली क्षेत्रबाहेक यस प्रविधिले पश्चिममा सुर्खेतसम्म र पूर्वको सबै क्षेत्रलाई कभर गर्ने प्राधिकरणले जनाएको छ ।

यस्तै, ‘टर्मिनल राडार’ले २०० नटिकल माइल रेडियस अर्थात् ३६० किलोमिटरसम्मको दूरीमा रहेका विमानको निगरानी गर्नेछ । यससँगै ७५ प्रतिशत नेपाली हवाई ‘स्पेस’ निगरानीमा आएको प्राधिकरणले जनाएको छ ।

भट्टेडाँडामा राखिएको राडारले ४५० किलोमिटर दूरीसम्मको रेडियसमा उडिरहेको विमानको कलसाइन, विमानको गति, विमानको अवस्थिति र उचाइको निरीक्षण गर्छ ।

यसअघि, पाइलटबाट उडिरहेको विमानको रिपोर्टिङ हुन्थ्यो भने अब सीधा विमानको निगरानी गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

जापानी सहयोग नियोग (जाइका)को करिब ९५ करोड रुपैयाँ र नागरिक उड्डयन प्राधिकरणको करिब १५ करोड गरी करिब १ अर्ब १० करोड रुपैयाँको लागत दुईओटा अत्याधुनिक राडार जडान गरिएको प्राधिकरणले जनाएको छ ।