
अध्यक्ष ओली र विदेशमन्त्री स्वराजबीच होटल सोल्टीमा बिहीबार साँझ भेटवार्ता भएको हो । ओली र स्वराजबीच करिब एक घन्टा ‘एक्ला–एक्लै’ वार्ता भएको छ ।
एक्ला–एक्लै वार्तापछि एमाले महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवालीलगायतका नेताहरुसहित पनि भेटवार्ता भएको छ ।
एमालेले स्वराजको सम्मानमा होटल सोल्टीमा बिहीबारै रात्रिभोजको आयोजना गरेको छ ।
भारतीय विदेशमन्त्री स्वराजले होटल सोल्टीमै संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका नेताहरुलाई पनि भेट्नेछिन् ।
शुक्रबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेपछि स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
स्वराजले शुक्रबारै बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नेपालमा निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेबेलामा भएको स्वराजको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका लागि बिहीबारै काठमाडौं आइपुगेकी हुन् ।
विशेष विमानमार्फत् बिहीबार अपराह्न ४ बजे नेपाल आएकी स्वराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै आफू सद्भावना भ्रमणमा आएको भन्दै कुनै विशेष एजेन्डा नरहेको बताएकी थिइन् ।
तर, उनले बिहीबारैदेखि राजनीतिक भेटघाट सुरु गरेकी छन् । उनी शुक्रबारै दिउँसो स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्