Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


हेटौंडालाई स्थायी राजधानी बनाउन होटल व्यवसायीले दिए सांसदलाई खाना र आवासमा छुट


0
Shares

हेटौंडालाई स्थायी रुपमा नै प्रदेशको राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौंडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् ।

सांसदका लागि शपथ ग्रहण गर्न आएको समयदेखि नै आवासमा ४० प्रतिशत र खानामा १५ प्रतिशत छुटको व्यवस्था गरेको होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष भागिरथ शर्माले जानकारी दिए ।

उनले भने, ‘प्रदेशको राजधानी हेटौंडा बनाउनका लागि यति सहयोग गर्न होटल व्यवसायी तयार छन्, सांसदलाई सेवा दिन पाउँदा खुशी पनि छन् ।’

हेटौंडामा पर्याप्त होटल रहेको भन्दै उनले प्रदेशको राजधानी बनाउन संघले गर्नुपर्ने भूमिका निर्वाह गर्ने बताए ।

अस्थायी मुकाम हेटौंडा तोकिएपछि संघले बैठक बोलाएर प्रदेश सांसदलाई खाना र बसाइँमा छुट दिने निर्णय गरेको अध्यक्ष शर्माले बताए ।

प्रदेशसभाको पहिलो बैठकमा सहभागि हुन हेटौंडा आइपुगेका सांसदलाई आवास तथा खानाको व्यवस्था मिलाउन पाउँदा खुशी लागेको मानस गेष्ट हाउसका सञ्चालक मानबहादुर लामाले बताए ।

त्यसैगरी थकाली भान्छाघरका सञ्चालक शम्भु अधिकारीले छुट पाएकामा सांसदहरु खुशी भएको बताउँदै स्थायी राजधानी हेटौंडा भएको खण्डमा सधैँ छुट दिन सकिनेसमेत बताए ।

हेटौंडाका होटल व्यवसायीले गरेको छुट हेटौंडावासीको माया भएको सांसद रीता माझीले बताइन् । होटल व्यवसायीको यस कार्यले सांसदहरु खुशी नै भएको उनको भनाइ छ । (रासस)