Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


इनासले बेलायतमा युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता गर्ने


0
Shares

इनासको छैठौं युरोपेली सम्मेलनको अवसर पारेर युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता २०१८ अप्रिल २१ र २२ गते लन्डनमा आयोजना गर्न लागेको इनास बेलायतका महासचिव संजयभक्त कंडेलले जानकारी दिए ।

कार्यक्रम तालिका अनुसार २१ अप्रिलमा युरोपका विभिन्न संघ संस्थाका प्रतिनिधि सहितको उपस्थितिमा इनास युरोपको छैठौं यूरोप स्तरीय वृहत भेला हुनेछ भने कार्यक्रमको दोस्रो दिन छैठौं युरोप महादेश स्तरीय नृत्य तथा तेश्रो महादेश स्तरीय गायन प्रतियोगिता गरिनेछ । गायन तथा नृत्य विधाका प्रतियोगीका लागि नियमावली समेत निर्धारण गरिएको छ ।

प्रतियोगितामा युरोपका विभिन्न देशबाट गायन र नृत्यमा दुई–दुई जना र आयोजक देशबाट दुवै विधामा तीन–तीन जनाले भाग लिन पाउनेछन् ।

बेलायतबाट इच्छुक सहभागिहरुका लागि १७ फेब्रुअरी २०१८ का दिन लन्डनमा अडिशन गर्न लागिएको यूके संरक्षक एवं ग्लोबल सचिव मनिषकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रम सफल बनाउन विभिन्न उपसमिति बनाइएको श्रेष्ठको भनाइ छ ।

उक्त अडिशनबाट छानिएका दुवै विधाका ६ जनाले अन्य देशबाट आएका प्रतियोगीहरुसँग २२ अप्रिलमा हुने युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगितामा प्रथम हुनेले इनास युरोप महादेशका लागि एक वर्षे कार्यकाल रहने गरी इनासको अवैतनिक मानार्थ सद्भावना दूत नियुक्त गरिनुका साथै ‘इनास यूरोप नेपाली डान्सिङ स्टार २०१८ को उपाधि सहित सात सय एक युरो, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो र तेश्रो हुने कलाकारलाई ‘इनास यूरोप नेपाली डान्सिङ्ग स्टार फस्ट रनर अप २०१८ र ‘इनास यूरोप नेपाली डान्सिङ्ग स्टार सेकेन्ड रनर अप २०१८‘ को विशेष उपाधि सहित क्रमशः पाँच सय एक यूरो र तीन सय एक यूरो, ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ ।

सम्पूर्ण सहभागी कलाकारलाई उच्च कदर गर्दै मायाको चिनो स्वरुप ट्रफी र प्रमाण पत्र प्रदान गर्ने आयोजकको तयारी छ ।

साथै विजयीलाई इनास आफैंले आयोजना गर्ने वा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुमा नृत्य प्रस्तुतिका लागि अवसर प्रदान गर्नेछ ।

चलचित्र, म्युजिक भिडियोमा समेत अभिनयका लागि अवसर प्रदान गरिने आयोजकले बताएको छ ।

इनासले गत वर्षको संस्करण डेनमार्कको कोपनहेगनमा आयोजना गरेको थियो ।

विश्वव्यापी रुपमा फैलँदै गरेको उक्त संस्थाले नेपाल लगायत विभिन्न देशमा नेपाली फिल्म अवार्ड कार्यक्रम समेत गर्दै आएको छ ।