
जिल्ला समन्वय समितिको सभाभवनमा रहेको प्रदेशसभास्थलमा कुर्सीलगायत अन्य सम्पूर्ण व्यवस्थापन कार्य पूरा भएको छ । केही प्राविधिक पक्षलगायतका कार्य शनिबार (आज) सम्पन्न हुने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए ।
यसैगरी, मुख्यमन्त्री र प्रदेशप्रमुखको कार्यालय, आवासलगायतका मन्त्रालय रहने कार्यालयमा आइतबार नाम उल्लेख गरिएको बोर्ड लगाइने भएको छ । उक्त बोर्डमा पहिले नेपाल सरकार त्यसपछि मन्त्रालयको नाम, प्रदेश नम्बर–१ र विराटनगर राखिनेछ ।
विराटनगरस्थित क्षेत्रीय कृषि निर्देशालयको पहिलो र दोस्रो तलामा मुख्यमन्त्रीको कार्यालय र निवास रहने मोरङका प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
यस्तै, प्रदेशप्रमुखको कार्यालय र आवास क्षेत्रीय सिँचाइ निर्देशनालयमा र आन्तरिक मामिला तथा कानुन मन्त्रालय क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा रहने व्यवस्था गरिएको छ । उक्त मन्त्रालयमा ४१ ओटा कार्यका लागि ४१ जना कर्मचारीको दरबन्दी छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालय घरेलु तथा साना उद्योग कार्यालयमा रहने भएको छ । यस मन्त्रालयअन्तर्गत् २४ ओटा कार्यका लागि १८ जना कर्मचारीको दरबन्दी छ ।
यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालय सुनसरी मोरङ सिँचाइ आयोजनाको कार्यालयमा रहने भएको छ । यस मन्त्रालयअन्तर्गत् विभिन्न २२ ओटा कामका लागि २४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।
सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य कार्यालयमा रहनेछ भने यस मन्त्रालयअन्तर्गत् ५८ कामका लागि ३० कर्मचारीले कार्य गर्ने प्रजिअ आचार्यले बताए ।
उद्योग, पर्यटन तथा तथा वातावरण मन्त्रालय क्षेत्रीय वन निर्देशालयमा रहनेछ भने यस मन्त्रालयअन्तर्गत् ६२ कामका लागि २९ कर्मचारी खटाइने भएको छ ।
यसैगरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय क्षेत्रीय पशु निर्देशलयमा रहनेछ भने ३२ कामका लागि २९ कर्मचारीले यस मन्त्रालयमा कार्य गर्ने भएका छन् ।
प्रत्यक्ष प्रशारण
यही माघ २२ गते १ बजे आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकको प्रत्यक्ष प्रशारण गरिने भएको छ । यसका लागि केही प्राविधिक पक्षबाहेक सम्पूर्ण तयारी पूरा भएको प्रजिअ आचार्यले जानकारी दिए ।
राष्ट्रिय र स्थानीय टेलिभिजनले सभास्थलबाट प्रत्यक्ष प्रशारण गर्ने तयारी शनिबार सम्पन्न हुने उनले जानकारी दिए ।
मर्यादापालक पोसाक
यस्तै, बैठकका लागि हाल १५ जना पुरुष तथा सातजना महिला मर्यादापालक राखिनेछ । उनीहरुको पोसाकसमेत तय गरिएको छ ।
पुरुष मर्यादापालकका लागि सेतो दौरा सुरुवाल, कालो कोट र भादगाउँले कालो टोपी निर्धारण गरिएको छ भने महिलाको हकमा रातो पारी भएको सेतो सारी, रातो चोलो र कालो कोट निर्धारण गरिएको छ ।
सभा प्रवेश परिचयपत्र
प्रदेशसभा बैठक हुने माघ २२ गतेका लागि पाँच किसिमका परिचयपत्रको व्यवस्था गरिएको छ ।
प्रदेशसभा प्रवेशका लागि सांसद, मर्यादापालक, सन्चारकर्मी, आगन्तुक, विशिष्ट नागरिक, पूर्वसांसदलाई सभास्थल प्रवेशपास (परिचयपत्र) वितरण गरिनेछ ।
१४ जिल्ला प्रतीक झल्काउने चिह्न राख्ने
प्रदेशसभा बैठककक्षमा १ नम्बर प्रदेशमा रहेका १४ जिल्लालाई चिनाउने प्रतिक चिह्न फोटो फ्रेममा राखिने भएको छ । जिल्लालाई चिनाउने मुख्य चिह्न विशेषरुपमा सजावट गरी राखिने भएको छ ।
प्रदेश नम्बर–१ मा प्रत्यक्ष र समानुपातिक गरी ९३ प्रदेशसभा सदस्य छन् । सभा बैठकस्थलमा कुल १७० सिटको व्यवस्था गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्