
सभा हुनेस्थल बुटवल उद्योग वाणिज्य संघको हल सजाएर चिटिक्क पारिएको छ भने पहिलो बैठकको कार्यसूचीसमेत तयार गरिएको छ ।
आइतबार (भोलि) हुने पहिलो बैठकको तयारी पूरा भएसँगै प्रदेशसभाका लागि पूर्वाभ्याससमेत गरिएको छ ।
ज्येष्ठ सदस्य बलदेव शर्माले सभामुखको भूमिका निर्वाह गर्ने बैठकका लागि उद्योग वाणिज्य संघको हल र बाहिरी घेरा सिंगारेर चिटिक्क बनाइएको छ ।
दलीय सहमतिमा बैठकको कार्यसूची तयार पारिएको छ । प्रदेशप्रमुखले संसद बैठकको आह्वान गरेको पत्र पढ्ने, प्रदेशसभा सन्चालनका लागि अन्तरिम कार्यविधि पारित गर्ने र प्रदेश सभामुखको चुनाव यही माघ २८ गते गर्ने कार्यसूची छ ।
प्रदेशसभाको पहिलो बैठक भव्य बनाउन संसद सचिवालयका कर्मचारी पनि तयार छन् । सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
प्रदेशसभा बैठक सुरक्षाका लागि ४० जना मर्यादापालकसहित तीनओटा सुरक्षा घेरा बनाइएको छ ।
हलभित्र सभामुख बस्ने कक्ष, कर्मचारी, मर्यादापालक, प्रदेश सांसद बस्नका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ ।
५ नम्बर प्रदेशमा १२ जिल्लाका पाँच दलका ८७ जना प्रदेशसभा सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्