भाडाका कुर्सीमा प्रदेशसभा बैठक • Image Khabar Image Khabar


भाडाका कुर्सीमा प्रदेशसभा बैठक


Imagekhabar
२१ माघ २०७४, आईतवार ०६:२३

भाडाका कुर्सीमा प्रदेशसभा बैठक

बैठकका लागि सबै प्रदेशमा जेनतेन सभाहलको तयारी पूरा भएको छ तर अन्य कुनै पनि संरचना तयार भएका छैनन् ।

प्रदेश ७ मा प्रदेशसभा बैठकका लागि ५४ वटा कुर्सी भाडामा ल्याएर गर्जो टारिएको छ भने प्रदेश २ मा शनिबार रातभर लगाएर हल तयार पारिएको छ ।

पहिलो बैठक सञ्चालन हुने जनकपुरको शैक्षिक तालिम केन्द्र भवनलाई रंगरोगन गरी व्यवस्थित बनाइएको छ ।

हलमा कुर्सी र डेस्क, साउन्ड सिस्टम, लाइटिङको काम सक्न रातभर कर्मचारी खटाइएको सहरी सडक विकास तथा भवन निर्माण प्रमुख गंगा यादवले बताएका छन् ।

प्रदेश १ को पहिलो प्रदेशसभा अधिवेशन हुने जिसस भवनमा अवस्थित सभाहलमा शनिबार कुर्सी मिलाएर राखिएको छ। हरियो रङका कुर्सीमा सेतो कभर लगाइएको छ ।

पंखा, एसी र साउन्ड सिस्टम जडान गरिएको छ । सुरक्षालगायत सबै प्रबन्ध मिलाउने काम पूरा भएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए ।

संसद् सचिवालय सिंहदरबारका सचिवज्यू पनि आइसक्नुभएको छ’, उनले भने, ‘प्राविधिक तयारीसमेत लगभग पूरा भएको छ ।’

उनका अनुसार पहिलो अधिवेशनको लाइभ भिडियो सर्वसाधारणले हेर्न पाऊन् भनेर जिसस भवनबाहिर टीभी जडान गर्ने तयारी छ ।

प्रदेश ५ को प्रदेशसभास्थल बुटवल खयरघारीस्थित उद्योग वाणिज्य संघको सभाहललाई संसद् बैठकका लागि सजाइएको छ ।

बैठक कक्षभित्र अडियो, भिडियो रेकर्ड गर्ने कन्ट्रोल रुम, मर्यादापालक, पत्रकार र आमन्त्रित व्यक्ति बस्ने स्थान छुट्टाछुट्टै व्यवस्था गरिएको छ । –अन्नपूर्णपोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्