प्रदेश नम्बर सातः पहिलो बैठकको तयारी पूरा, यस्तो हुनेछ सभाहल • Image Khabar Image Khabar


प्रदेश नम्बर सातः पहिलो बैठकको तयारी पूरा, यस्तो हुनेछ सभाहल


Imagekhabar
२१ माघ २०७४, आईतवार ०७:३७

प्रदेश नम्बर सातः पहिलो बैठकको तयारी पूरा, यस्तो हुनेछ सभाहल

 

पहिलो बैठकका लागि हलभित्रको आवश्यक भौतिक तयारी अबेर बेलुकीसम्म पुरा भएको छ ।

कार्पेट बिच्याएर टेबुल, कुर्सीहरु मिलाउने काम अबेर बेलुकीसम्म गरिएको थियो । मुलुक संघीय संरचनामा गएसंगै गठन भएको प्रदेश सभाको यो ऐतिहासिक पहिलो बैठक हो ।

‘कार्पेट बिच्याउने, टेबुल, कुर्सीहरु राख्ने, साउण्ड सिस्टम मिलाउनेलगायत हलभित्रको सबै तयारी पुरा भएको छ ।’

प्रदेश सभाका लागि भौतिक व्यवस्थापनको काम गरिरहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख रबिन्द्र बोहराले भने, ‘सभामुख, उपसभामुख, संसद सचिवालयको कार्यकक्ष पनि तयारी अवस्थामा छ ।’

प्रदेश सभाले सभामुख चयन गरिनसकेकोले पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ७४ वर्षीय दिव्यश्वरी शाहले गर्ने छिन् ।

सभामुख र उपसभामुख चयन नभएसम्मका लागि प्रदेश सभा बैठक संचालनमा बैठकको अध्यक्षलाई सहयोग गर्न ५ सदस्यीय प्यानल गठन हुने छ ।

बैठकको सभापतित्व गर्ने शाहले शुरुमा प्रदेश सभा बैठक आह्वान सम्बन्धी पत्र पढेर सुनाउने छिन । त्यसपछि संसदमा प्रतिनिधित्व गर्ने दलका तर्फबाट १÷१ जना सांसदले बोल्ने छन् ।

दलका प्रतिनिधिले बोलेपछि संसदले संसद संचालनको अन्तरमि कार्यविधि पारित गर्ने कार्यसुची रहेको प्रदेश सभा संचालनका लागि आएको केन्द्रीय संसदको विज्ञ टोलीका संयोजक सहसचिव मुरारी महतले जानकारी दिए ।

कार्यविधि पारित भएपछि बैठकले सभामुख चयनका लागि निर्वाचनको मिति तय गर्ने कार्यसुची रहेको छ ।

बैठक संचालन विधि, संसदभित्रको अनुशासनलगायतका विषय कार्यविधिमा समेटिएका छन् । प्रदेश सभा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिको सहमतिमा संसद सचिवालयले कार्यविधि तयार पारेको हो ।

‘प्रदेश सभाको पहिलो बैठक हाम्रा लागि ऐतिहासिक दिन हो, भोलिको दिनको हामी व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छौं र यहाँका जनतामा पनि त्यो प्रतिक्षा छ ।’ विज्ञ टोलीका संयोजक महतले भने, ‘बैठक संचालनको आन्तरिक तयारी पुरा भएको छ ।’

प्रदेश सभा हल अगाडि रहेको जिल्ला प्राविधिक कार्यालयका ५ वटा कोठामा सभामुख, उपसभामुख, संसद सचिवालय तथा बाँकी दुई वटा कोठालाई संसदका मर्यादा पालकको पोशाक परिवर्तन कक्षका रुपमा प्रयोग गरिने छ ।

मर्यादा पालकले प्रयोग गर्ने ती कोठामा पछि संसदमा प्रतिनिधितव गर्ने चार वटा दलका संसदीय कार्यालयहरु राखिने डिभिजन प्रमुख बोहराले बताए ।

५३ सदस्यीय प्रदेश संसदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको प्रतिनिधित्व रहेको छ ।

प्रदेश सभाहलभित्र उत्तरतिर सभामुखको रोष्टम छ । सभामुखको दायातिर प्रदेश सभा सदस्यको मन्तव्यका लागि रोष्टम राखिएको छ ।

सभामुखको रोष्टमको अगाडितिर करिब ५ फिट खाली ठाउँ छाडिएको छ । त्यसपछि प्रदेश सभा सदस्यहरु बस्नका लागि टेबुल र कुर्सीहरु रहने छन् । बीचमा बाटो राखिएको छ ।

प्रदेश सरकार गठन भएपछि हलभित्र सभामुखको दायातिरको रोष्टममा सत्ता पक्ष र बायातिर प्रतिपक्षी सांसद बस्ने छन् ।

सांसदहरु बस्ने रोष्टम पछाडि सिसाको बार लगाइएको छ । सिसाको बार पछाडिको भागमा मिडिया र आमन्त्रितका लागि छुट्याइएको छ । जहाँ करिब ६० वटा कुर्सी राखिएका छन् ।

प्रदेश सभा सचिवालयका लागि सरकारले २७ जनाको दरबन्दी स्वीकृत गरेको छ । तर, स्वीकृत दरबन्दी अनुसार कर्मचारी भने आईपुगेका छैनन् ।

आईतबारसम्म एक जना अधिकृतमात्र सम्पर्कमा आएका केन्द्रीय संसद सचिवालयको टोलीले जनाएको छ ।

टोलीका संयोजक महतले कर्मचारी नआए पनि संसद संचालनलगायतका काम नरोकिने बताए ।

आफूहरुको आग्रहमा स्थानीय प्रशासनले थप एक जना कर्मचारी संसद सचिवालयमा खटाएको उनले बताए । संसदमा ३० जना प्रहरी कर्मचारीलाई मर्यादापालकको रुपमा खटाइदै छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले मर्यादा पालकलाई संसदको मर्यादा सम्बन्धी तालिमसमेत दिइएको उनले जानकारी दिए । प्रहरी निरिक्षक हिक्मत थापाको नेतृत्वमा मर्यादा पालक खटिने छन् ।

प्रदेश सभा बैठकमा सांसदले बस्नका लागि कुर्सी खरिद गरिएको छ ।

समय नपुगेकाले कुर्सी खरिद गर्न नसक्दा पहिलो बैठकको कुर्सी भाडामा ल्याएर प्रयोग गर्न लागिएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय प्रमुख बोहराले बताए ।

‘सांसदहरु बस्नका लागि अलि राम्रो कुर्सी किन्न खोजेको तर यहाँ भेटाएनौं । त्यसैले पहिलो बैठकका लागि भाडामा कुर्सी ल्याएका हां ।’ डिभिजन प्रमुख बोहराले भने, ‘केही दिनमै कुर्र्सीको व्यवस्था हुन्छ ।’

प्रदेश बैठक संचालन हुनुअघि सोमबार बिहान संसद बैठकको रिहर्सल गरिने छ ।

बैठकको तयारीका लागि रिहर्सल गर्न लागिएको केन्द्रीय संसदको विज्ञ टोलीका संयोजक महतले बताए । प्रदेश बैठक हुनु अघिल्लो दिन आईतबार अधिकांश सांसदहरु प्रदेश सभा हल पुगेका थिए ।

प्रदेश सभा हलको निरिक्षणका लागि पुगेका सांसदहरुले प्रदेश सभाको पहिलो बैठक नेपालका लागि ऐतिहासिक भएको प्रतिक्रिया दिएका थिए । ‘जनताले चाहेको व्यवस्था कार्यान्वयनमा आएको छ । मुलुक पूर्ण रुपमा संघीय ढाँचामा जाँदैछ ।’ प्रदेश सभा सदस्य त्रिलोचन भट्टले भने, ‘यो हाम्रा लागि मात्र होईन, नेपाल र नेपालीका लागि ऐतिहासिक हो ।’

विकासका दृष्टिले पिछडिएको यो प्रदेशमा अब प्रदेश संसद र प्रदेश सरकारमार्फत विकासले तीव्रता लिने उनले बताए ।

पहिलो बैठकमा सहभागिताका लागि आफूहरु निकै उत्सुक र व्यग्र प्रतिक्षामा रहेको सांसदहरुको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्