१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रदेश ४ मा प्रदेशसभा बैठकको तयारी पुरा (भिडियो)


0
Shares

पोखराको नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रको हलमा बैठक बस्ने भएकाले तीव्र गतिमा भवन तयार गरिँदैछ ।

प्रदेश ४ को सोमबार बस्ने ऐतिहासिक प्रदेशसभा हललाई दुलही झै सिँगारिएको छ । पोखराको नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रको हलमा कार्पेटिङ, टेबल, कुर्सी मिलाउनेदेखि रंगरोगनका काम सकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी बताउँछन् ।

सर्वदलीय बैठकले प्रदेशसभा सञ्चालन कार्यविधि २०७४ पारित गर्ने निर्णयसमेत गरेको छ । प्रदेशसभाका सहसचिव जीवराज बुढाथोकीका अनुसार करिब डेढ घण्टा बस्ने बैठकमा ३ ठूला दलका ३÷३ जना र साना २ दलबाट १÷१ जना गरी ११ जनाले बोल्ने ब्यवस्था मिलाईएको छ । जसमा प्रत्येक दलबाट १ जना महिला अनिवार्य वक्ताका रुपमा राखिएको छ ।

सभामुखको फागुन ३ र उपसभामुखको ६ गते निर्वाचन गर्ने सहमति भएको छ । सभामुखको निर्वाचनअघि नै मुख्यमन्त्री चयन हुने सम्भावना पनि छ । मुख्यमन्त्रीका एमालेबाट पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङ मुख्य प्रतिश्पर्धीका रुपमा छन् ।

प्रदेशसभामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति गरी ५ दलको प्रतिनिधित्व छ । प्रदेश ४ मा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ गरी कुल ६० सदस्य छन् ।

प्रदेशसभामा सहभागी हुने सांसदहरु पोखरा पुगिसकेका छन् । प्रदेशसभाका लागि अधिकांश सांसदको अनुभव पहिलो भएको कारण रिहर्सल आइतबार गरिएको छ ।

प्रदेशसभा बैठकस्थलमा नेपाल प्रहरीका निरीक्षकको नेतृत्वमा ५५ जना मर्यादापालक खटिनेछन् । सभास्थल बाहिर २५ जना सुरक्षाकर्मी खटिने टोलीले जनाएको छ ।

उता, पोखरा–४ नम्बर प्रदेशको अस्थायी मुकाम पोखरामा विभिन्न सरकारी कार्यालयमा बिहीबार मन्त्रालय स्थापना गरिएको छ ।

सीप विकास प्रशिक्षण केन्द्रको नवनिर्मित भवनको केही कोठामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गरी काम सञ्चालन गरिएको छ । अन्य मन्त्रालय स्थापनाको तयारी समेत पूरा भएको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्