२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठकमा तीन भाषा प्रयोग (भिडियो)


0
Shares

बैठकमा प्रस्तुत गरिएको ३० वटा दफा र ४ वटा अनुसूचीसहितको अन्तरिम कार्यविधि सर्वसम्मत पारित भएको हो ।

प्रदेश नम्बर २ को प्रदेशसभा बैठकले आगामी फागुन २ गते सभामुख चयन गर्ने निर्णय गरेको छ । बैठकको शुरुमा सभामुखको भूमिका निर्वाह गरेका प्रदेशसभाका ज्येष्ठ सदस्य लगनलाल चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभाको बैठक आह्वानका लागि पठाएको पत्र पढेर सुनाएका थिए ।

बैठक आरम्भ भए लगत्तै शहीदहरुको तस्वीर सभाहलमा नराखिएको भन्दै मनिष सुमन, परमेश्वर साह, डिम्पल झालगायतका प्रदेशसभा सदस्यहरुले आपत्ति जनाएपछि बैठक केहीबेर अवरुद्ध भएको थियो । तर ज्येष्ठ सदस्य चौधरीले आगामी दिनमा बस्ने बैठकमा शहीदका तस्वीर राख्न आदेश दिएपछि बैठक पुनः सुचारु भएको थियो ।

बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने ५ वटै दलका प्रदेश सांसदहरुले प्रदेश नम्बर २ लाई समृद्ध बनाउने प्रतिबद्धता जनाएका छन् ।

बैठकमा संघीय समाजवादी फोरम र राजपाका सांसदले हिन्दी भाषामा मन्तव्य राखेका थिए । नेकपा एमाले र नेपाली कांग्रेसका सांसदले नेपालीमा तथा नेकपा माओवादी केन्द्रका सांसदले मैथिली भाषामा सम्बोधन गरेका थिए ।

प्रदेशसभाको अर्को बैठक माघ २९ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

भिडियो हेर्नुहोस्