
सरोज अधिकारी र कुमार कटुवाल (इमेज)
काठमाडौं, मंसिर २१ । विभिन्न मुलुकमा राजदूत भएर जानेहरुले बेलाबेलामा वितन्डा मच्चाएर देशको छवि नै धुमिल्याएको विषय त नौलो होइन ।
संसदीय सुनुवाइ समितिले कस्ता व्यक्तिलाई राजदूत बनाएर पठाउँदा देशको प्रतिष्ठा जोगिन्छ ? भनेर विज्ञहरुसित छलफल गरेको छ ।
छलफलमा सहभागी विज्ञहरुले राजदूत बनेर जानेहरुलाई खान, लगाउन, हिँड्नदेखि कूटनीतिक भाषाकोसमेत तालिम दिनुपर्ने सुझाव दिएका छन् ।
राजदूतलाई सामान्यतः आफ्नो देश र जुन देशमा जाने हो, त्यो देशबीचको सम्बन्धको सेतुको काम गर्ने व्यक्तिकारुपमा लिने गरिन्छ । राष्ट्रिय हितलाई उच्च महत्व दिएर उच्च नैतिकतासहित काम गर्ने विश्वास पनि राजदूतबाट गरिन्छ ।
तर, नेपालबाट राजदूत बनेर गएका कतिपयको कार्यशैली भने ठीकविपरीत देखिने गरेको छ ।
उनीहरुलाई देश र जनताप्रति उत्तरदायी बनाउन भन्दै अन्तरिम संविधानमा संसदीय सुनुवाइ गर्ने व्यवस्था गरियो ।
त्यसपछि राजदूत बनेर जानेहरु सबैको संसदीय सुनुवाइबाट नाम अनुमोदन गर्ने गरिएको छ । तर, सुनुवाइको परिणाम भने देखिएको छैन ।
संसदीय सुनुवाइ समितिकै औचित्यमाथिसमेत यस्तै प्रश्नहरु तेर्सिएर आउँदै गर्दा पहिलोपटक संसदीय सुनुवाइ समितिले विज्ञहरु बोलाएर कस्ता व्यक्तिलाई राजदूत बनाएर पठाउँदा मुलुकको हित हुन्छ ? भनेर छलफल गरेको छ ।
शुक्रबार समितिले पाँच पूर्वराजदूतलाई बोलाएर नयाँ राजदूतको सुनुवाइ कसरी गर्दा र कस्ता व्यक्तिलाई राजदूतमा अनुमोदन गर्दा राम्रो हुन्छ ? भनेर छलफल गरेको छ ।
छलफलमा सहभागी पूर्वराजदूतहरुले राजदूत भएर जानेहरुको पहिलो शर्त चरित्रवान हुनुपर्ने बताए ।
भाषाको दख्खल हुनुपर्ने, राष्ट्रहितप्रति चिन्तित हुनुपर्ने, कूटनीतिक मर्यादामा रहनुपर्नेमा उनीहरुको जोड थियो ।
सम्बन्धित देशको भाषा, संस्कृति नबुझ्ने भएका कारण पनि समस्या आइरहेको पूर्वराजदूतहरुको निष्कर्ष छ ।
पूर्वराजदूत पुस्करमान सिंह राजभण्डारीले राजदूत भएर जानेहरुलाई महिनौं तालिम दिनुपर्ने अवस्था रहेको बताए ।
त्यस्तै, पूर्वराजदूत रामभक्त बीपी ठाकुरले ‘राजदूत भएर जानेहरुलाई खाने, हिँड्ने, बोल्ने, लगाउने तरिका नै सिकाउनुपर्छ’–भने ।
विज्ञहरुले उमेरमा पाको र अनुभवीहरुलाई राजदूत बनाउनुपर्ने सुझाव दिँदै कम्तीमा पनि ४५ वर्ष पार गरेको हुनुपर्ने बताएका छन् ।
सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ आगामी आइतबारदेखि गरिँदैछ ।
प्रतिक्रिया दिनुहोस्