
सुर्खेतको डिभिजन सिचाईको सभाहलमा सम्पन्न प्रदेशसभाको पहिलो बैठकमा प्रमुख मुद्दाको रुपमा विकास र समृद्धि रह्यो । बैठकले यही माघ २९ गते सभामुखको निर्वाचन गर्ने निर्णय पनि गरेको छ ।
प्रदेश प्रमुख दुर्गाकेशर खनालले आइतबार दिउँसो १ बजेलाई आह्वान गरेको बैठक निर्धारित समयमा आरम्भ भयो ।
सभामुखको भूमिकामा ज्येष्ठ सदस्य हिमबहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालले पहिलो प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको सूचना पढेर सुनाएका थिए । त्यसपछि राष्ट्रिय धुन बजेको थियो ।
प्रदेशसभाको पहिलो बैठकमा बोल्दै सांसद सुशिला शाहीले पृथ्वीनारायण शाहले बनाएको देशमा राष्ट्रिय स्वाधिनता र सबै इमान्दारीपूर्वक प्रदेश निर्माणमा लाग्नु पर्ने बताइन् । राप्रपाबाट प्रतिनिधित्व गर्ने सांसद शाहीले ९० प्रतिशत हिन्दु भएको राष्ट्रमा बहुमतको कदर हुनुपर्ने बताइन् ।
संघर्ष र बलिदानबाट प्राप्त गरेको सबैभन्दा कान्छो प्रदेश विकासबाट धेरै पछाडि छ । अहिले पनि सबैभन्दा गरिब र हेयका दृष्टिले हेरिएको सांसद जीवनबहादुर शाहीले बताए । प्रदेशको समग्र विकासका लागि प्रतिपक्षमा रहेता पनि प्रदेशको समृद्धि र विकासका लागि पक्षविपक्ष नभनी काम गर्नेमा उनले जोड दिए ।
प्रदेश नम्बर ६ अन्य प्रदेशको तुलनामा पछाडि रहेको स्वीकार गर्दै भौगोलिक विकटता चुनौतीपूर्ण रहेको सांसद महेन्द्र शाहीले बताए । राज्य व्यवस्था नै परिवर्तन भएको अवस्थामा स्रोत साधनको प्रयोग गरी समृद्धिको बाटोमा लाग्नु पर्ने उनले बताए ।
ठूलो भूगोल र स्रोत साधनको सम्भावनालाई अवसरका रुपमा लिँदै भौगोलिक विकटताको चुनौतीलाई छिचोल्न सबै एक हुनुपर्नेमा शाहीले जोड दिए ।
अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर ६ को अवस्था निराशाजनक रहेको सांसद यामलाल कँडेलले बताए । जनताको आन्दोलनबाट प्राप्त प्रदेशमा बाँके र बर्दियालाई छुटाउन नहुनेमा कँडेलले जोड दिए । सामान्य औषधि नपाएर जीवन त्याग्नु पर्ने यो प्रदेशका जनताका सामु अन्य प्रदेशभन्दा सम्भावना कम नरहेको कँडेलले बताए ।
पहिलो बैठकले प्रदेश सभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ र सभामुखको निर्वाचन सम्बन्धी निर्णयार्थ प्रस्ताव सर्वसम्मत पारित गर्दै माघ २९ गते निर्वाचन गर्ने मिति तय गरेको छ ।
ज्येष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा सम्पन्न बैठकले माघ २९ गते दिउसो १ बजेका लागि बैठक आह्वान गरेको छ । उक्त बैठकले प्रदेश नम्बर ६ को सभामुख छनौट गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्