२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश नम्बर १ र ४ को प्रदेशसभाको पहिलो बैठक आज बस्दै


0
Shares

प्रदेश १ को पहिलो वैठक विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा हलमा दिउँसो १ बजे बस्ने तय भएको छ ।

७३ वर्षीय ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले पहिलो बैठकको अध्यक्षता गर्नुहुनेछ । प्रदेश नम्बर १ मा ९३ जना सांसद छन् ।

प्रदेशसभाको पहिलो बैठकले अन्तरिम कार्यविधी पारित गर्ने, सभामुख र उप-सभामुखको निर्वाचनको मिति तोक्नेलगायतका कार्यसूची तय भएको छ ।

बैठकअघि हिजो बसेको सर्वदलीय बैठकले माघ २९ गते सभामुख चयन गर्ने सहमति जुटाएको छ ।

तर आज बस्ने प्रदेशसभा बैठकले त्यसलाई औपचारिकता दिने भएको छ । आजको बैठकमा ७ जना सांसदले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यसैगरी प्रदेश नम्बर ४ को प्रदेशसभा बैठक पनि आज पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा बस्दै छ ।

प्रदेश सभाका ज्येष्ठ सदस्य ६७ वर्षिय जनकलाल श्रेष्ठले पहिलो बैठकको अध्यक्षता गर्नेछन्  ।

बिहान ११ बजे शुरु हुने बैठकका लागि अधिकांश जिल्लाका प्रदेशसभा सदस्यहरु पोखरा आइपुगेका छन् ।

प्रदेश नम्बर ४ मा ११ जिल्लाका ६० जना प्रदेशसभा सदस्य छन् ।

पहिलो दिनको बैठकमा तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका तीन/तीन जना र अन्य दुई दल नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाका एक/एक जना सांसद गरी ११ जनाले बोल्ने ब्यवस्था मिलाइएको छ ।

प्रदेश नम्बर ४ को सभामुख निर्वाचन फागुन ३ र उपसभामुखको निर्वाचन फागुन ६ गते गर्न सहमति यसअघि नै भइसकेको छ ।

यसअघि प्रदेश नम्बर २, ५, ६ र ७ को पहिलो प्रदेशसभाको बैठक हिजो सम्पन्न भएको थियो । त्यसैगरी गत १८ गते प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक भएको थियो ।