२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश–४ प्रदेशसभाको पहिलो ऐतिहासिक बैठकमा जे देखियो (भिडियो)


0
Shares

पोखरामा सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकमा सांसदहरुले प्रदेश नम्बर–४ लाई समृद्ध प्रदेश बनाउने बाचा गरेका छन् ।

वाम गठबन्धनका सांसदहरुले भने चुनावी बाचाअनुसार स्थायी सरकार दिने बताएका छन् । सभामा ठूला तीन दलका तीन/तीन तथा साना दलका एक/एकजना सांसदले सम्बोधन गरेका थिए ।

बैठकमा नेपालको संविधानको भावनाअनुरुप यस क्षेत्रको सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधता छर्लंग देखिन्थ्यो ।

नेपाली जनताको ठूलो बलिदानपछि जारी भएको संविधान कार्यान्वयनका सन्दर्भमा अत्यन्त महत्वपूर्ण मानिएको प्रदेशसभाको बैठकमा आउने सम्पूर्ण सदस्य औपचारिक पोसाकमा देखिन्थे ।

अधिकांश दौरा–सुरुवालमा सजिएका थिए भने कोही जातीय संस्कृति झल्काउने पोसाकमा थिए ।

बिहान ११ बजेर २ मिनेटमा जनाउ घन्टी बज्नुअगावै सदस्यहरु बैठकस्थलमा प्रवेश गरिसकेका थिए ।

बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका प्रदेश सांसद पृथ्वी सुब्बा गुरुङले कोरला र सुस्ता नाका भएको प्रदेश–४ लाई समृद्ध प्रदेश बनाउने बाचा गरे ।

मुख्यमन्त्रीका दाबेदारसमेत रहेका गुरुङले वाम गठबन्धनले जनचाहना र बाचाअनुसार स्थायी सरकार दिने दाबी गरे ।

मुख्यमन्त्रीकै अर्का दाबेदार एमालेकै सांसद किरण गुरुङले दल सानो–ठूलो भएपनि प्रतिस्पर्धी नभइ यो प्रदेशलाई कसरी समृद्ध बनाउने भन्नेमा लाग्नुपर्ने बताए ।

कांग्रेस सांसद कृष्णचन्द्र नेपालीले प्रदेश–४ सँग आर्थिक समृृद्धिको सम्भावना रहेको भन्दै यसलाई बढावा दिनुपर्नेमा जोड दिए ।

माओवादी केन्द्रका हरिबहादुर चुमानले प्रदेशसभा र स्थानीय तहको अधिकार खोस्ने प्रयत्न भइरहेको भन्दै त्यसकाविरुद्ध एक भएर लड्ने बताए ।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले भने संघीयताको विरोध गरे ।

बैठकमा बोल्ने अधिकांश सदस्यले पोखराको अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै निर्माण गर्न र यस प्रदेशलाई पर्यटन, जलस्रोत र शैक्षिक हब बनाउन जोड दिएका थिए ।

प्रदेश सभामा ३० जना खसआर्य, २५ जना आदिवासी जनजाति, तीनजना दलित र एकजना अल्पसंख्यक छन् । सभामा ४० पुरुष र २० जना महिला रहेका छन् ।

यस प्रदेशको भूगोल हिमालपारिको जिल्लादेखि तराईको सुस्तासम्म फैलिएको छ । यस प्रदेशमा गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, नवलपुर, मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत र मनाङ गरी ११ ओटा जिल्ला रहेका छन् ।

यहाँको प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, नयाँ शक्ति पार्टीका दुई र स्वतन्त्र एकजना सांसदको प्रतिनिधित्व छ ।

प्रदेश–४ प्रदेशसभाको सभामुख चयनका लागि आगामी फागुन ३ गते निर्वाचन हुने बैठकले तय गरेको छ ।

भिडियो हेर्नुहोस्