
उनीहरुले यस प्रदेशको जलस्रोत, पर्यटन, कृषि, उद्योगधन्दालगायत प्राकृतिक र साँस्कृतिक सम्पदाको समुचित उपयोग गरी नमुना प्रदेशकोरुपमा विकास गर्ने उद्घोष गरेका हुन् ।
प्रदेश–१ को पहिलो प्रदेशसभाको बैठक विराटनगरस्थित मोरङ जिल्ला समन्वय समितिको हलमा सोमबार सम्पन्न भएको छ ।
दिउँसो १ बजे बोलाइएको बैठक जेष्ठ सदस्य ओम सरावगीले सन्चालन गरे । बैठकको सुरुमा प्रदेशप्रमुख डा. गोविन्द तुम्बाहाङले प्रदेशसभा बैठक आह्वान गरेको पत्र पढेपछि सांसदहरुले आफ्नो धारणा राखेका थिए ।
पहिलो अधिवेशनमा दलका तर्फबाट एक/एकजना सांसदले बैठकलाई सम्बोधन गरेका थिए । कुल ६ दलका एक/एकजना र स्वतन्त्र एक गरी कुल ७ जनाले पहिलो बैठकलाई सम्बोधन गरे ।
बैठकलार्ई नेकपा एमालेका सांसद भीम आर्चाय, नेपाली कांग्रेसका सांसद कृष्ण श्रेष्ठ, माओवादी केन्द्रका इन्द्रबहादुर आम्बोहाङ, संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फे, संघीय समाजवादी फोरम नेपालका जयराम यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद इन्दिरा राई र स्वतन्त्र सांसद नारायणबहादुर मगरले सम्बोधन गरेका थिए ।
अधिवेशनमा दलका तर्फबाट सांसदलाई ५ मिनेटको समय निर्धारण गरिएको थियो । तर, प्रायजसो संसादले आफ्ना कुरा छोट्याएर ४ मिनेटभित्रमा राखेका थिए ।
सम्बोधनकाक्रममा पहिले स्वतन्त्र सांसद नारायणबहादुर मगर, संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फे, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद इन्दिरा राई, माओवादी केन्द्रका इन्द्रबहादुर आम्बोहाङले, कांग्रेस सांसद कृष्ण श्रेष्ठ र अन्तिम समयमा एमालेका भीम आर्चायले आफ्नो भनाइ राखेका थिए ।
प्रदेशसभाको पहिलो बैठकले सभामुख निर्वाचनको मितिसमेत तय गरेको छ । प्रदेश–१ प्रदेशसभाको सभामुख चयनका लागि यही माघ २९ गते निर्वाचन हुने भएको छ ।
पूर्वका १४ जिल्ला रहेको प्रदेश–१ मा प्रत्यक्ष र समानुपातिकबाट गरी कुल ९३ जना सांसद रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्