२१ जेष्ठ २०८२, बुधबार | Wed Jun 4 2025


राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा, ६ वटा प्रदेशमा मतदान हुँदै


0
Shares

प्रदेश नम्बर २ बाट निर्वाचित हुने सबै सदस्य निर्विरोध भइसकेकाले सो प्रदेशमा भने निर्वाचन हुने छैन । बाँकी ६ वटा प्रदेशमा भोलि निर्वाचन हुने छ ।

प्रदेश नम्बर १ को विराटनगर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा मतदान केन्द्र तोकिएको छ ।

राष्ट्रियसभामा चुनिने ५६ सिटमध्ये उम्मेदवारी मनोनयनकै क्रममा २४ सिट निर्विरोध भैसकेका छन् । अब ३२ सिटका लागि मात्रै चुनाव हुने छ ।

५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

हरेक प्रदेशबाट कम्तिमा ३ जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अरु ३ जनासहित ८ जना निर्वाचित हुने संवैधानिक प्रावधान छ ।

राष्ट्रियसभा चुनाव नहुँदा दुई महिनाअघि सकिएको प्रतिनिधिसभा चुनावको अन्तिम नतिजा घोषणा हुन सकेको छैन । यसबाट नयाँ सरकार गठन प्रक्रियासमेत अवरुद्ध भएको छ ।

राष्ट्रियसभा चुनावको परिणाम आएलगत्तै प्रतिनिधिसभाको समानुपातिकको परिणाम घोषणा गर्ने आयोगले जनाएको छ ।

राष्ट्रियसभा चुनावको परिणाम बिहीबारसम्म आइसक्ने र शुक्रबार यसको परिणाम राष्ट्रपतिसमक्ष बुझाउने आयोगको तयारी छ ।

आयोगले फागुन ५ गतेभित्र प्रतिनिधिसभा चुनावको सबै परिणामसमेत राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।