
बुधबार सम्पन्न निर्वाचनमा प्रदेशसभाका ९३ सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख/अध्यक्ष–उपाध्यक्ष २७३ जनाले मतदान गरेका हुन् ।
विराटनगरस्थित वीरेन्द्र सभागृह मतदानस्थलमा भएको मतदानमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको थियो ।
यस प्रदेशमा अल्पसंख्यक वा दलित र अपांगता भएका समूहका दुई सदस्यका लागिमात्रै निर्वाचन गरिएको हो ।
६ जना भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । निर्विरोध हुनेमा ३ जना महिला र ३ जना अन्य समूहका छन् ।
निर्विरोध निर्वाचित हुनेमा महिला कोटाकी नेकपा एमालेकी नैनकला ओझा, माओवादी केन्द्रकी विना पोखरेल र नेपाली कांग्रेसकी सरिता प्रसाइँ छन् । अन्य समूहमा एमालेका पर्शुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी र कांग्रेसका रमेशजंग रायमाझी निर्विरोध भएका हुन् ।
स्थानीय तहका प्रमुख–उपप्रमुखतर्फ २७२ र प्रदेशसभातर्फ ९२ मत खसेको छ ।
स्थानीय तहको प्रमुख–उपप्रमुखतर्फ कुल २७४ मतदाता रहेका थिए । त्यसैगरी, प्रदेश सांसदतर्फ ९३ मतदाता रहेका थिए ।
क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलकाअनुसार स्थानीय तहका प्रमुख–उपप्रमुखतर्फ ताप्जेजुङ मिक्वाखोला गाउँपालिकाका उपप्रमुख रुद्रकुमारी साँवा र तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन मावुहाङ मतदान प्रक्रियामा अनुपस्थित रहे ।
संखुवासभाको मकालु गाउँपालिकाका प्रमुख खड्ग कटुवालको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
प्रदेश सांसदतर्फ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाफे मतदान प्रक्रियामा सहभागी भइनन् ।
बाबुको क्रियापुत्री बसेकी तेह्रथुम, फेदाव गाउँपालिकाकी उपप्रमुख क्रियापुत्री गीतादेवी थापाले पनि भोट खसालिन् ।
१ नम्बर प्रदेशमा एक महानगरपालिका, २ उपमहानगरपालिका, ६० नगरपालिका र ७४ गाउँपालिका गरी कुल १३७ स्थानीय तह छन् । ती स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभामा मतदान रहेका थिए ।
राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रतिनिधिको मतभार १८ रहेको छ भने प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।
यसरी १ नम्बर प्रदेशमा स्थानीय तहका प्रतिनिधिको मत ४ हजार ९२३ र प्रदेशसभा सदस्यको मत ४ हजार ४६४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्