२१ जेष्ठ २०८२, बुधबार | Wed Jun 4 2025


राष्ट्रियसभा निर्वाचनमा ९९.५२ प्रतिशत मतदान : आयोग


0
Shares

बुधबार बिहान १०ः०० देखि ३ः०० बजेसम्म भएको मतदानमा करिब ९९.५२ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।

कुल ५६ सदस्यीय राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नम्बर–२ का आठै सदस्य निर्विरोध निर्वाचित भएकाले त्यहाँ मतदान गर्न परेन ।

६ ओटै प्रदेशमा रहेका जम्मा एक हजार ६७७ जना मतदातामध्ये एक हजार ६६९ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका र जम्मा ८ जना अनुपस्थित रहेको आयोगले जनाएको छ ।

प्रत्येक प्रदेशमा गठन भएको निर्वाचकमन्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्य गरी दुई हजार ५६ मतदाता रहेका थिए ।

त्यसैगरी, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा एक हजार ५०६ जना मतदातामा प्रत्येकको मतभार १८ र प्रदेशसभाका सदस्य ५५० जना मतदातामा प्रत्येकको मतभार ४८ हुने प्रावधान छ ।

प्रत्येक प्रदेशमा गठन भएको निर्वाचकमन्डलले दिएको मतको आधारमा प्रत्येक प्रदेशबाट ८ जनाका दरले कुल ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् ।

प्रत्येक प्रदेशबाट निर्वाचित हुने ८ जनामा महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुनेछन् । रासस