२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


राजीनामा गर्ने/नगर्ने विषयमा प्रधानमन्त्री देउवा अझै अन्योलमा (भिडियो)


0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा सबै तहको निर्वाचन सम्पन्न गर्ने आफ्नो दायित्व पूरा गरेपछिमात्र नयाँ जनादेश प्राप्त राजनीतिक दललाई सत्ता हस्तान्तरण गर्ने अडानमा छन् ।

राजीनामा गर्ने हो कि बहुमत जुटाएर नयाँ सरकार बनेपछि पद छाड्ने भन्नेमा आफूनिकटका सहयोगीसँग उनले परामर्श थालेका हुन् ।

सरकारको मुख्य दायित्व सबै तहको निर्वाचन सम्पन्न गर्नु भएकाले प्रतिनिधिसभाको समानुपातिक निर्वाचनको नतिजा नआएसम्म पद त्याग्न प्रधानमन्त्री तयार देखिँदैनन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले सबै तहको निर्वाचनको परिणाम आएपछिमात्र संवैधानिकरुपमा प्रधानमन्त्री देउवाले पद हस्तान्तरण गर्ने बताउँदै बाहिर प्रचारबाजी भएजस्तो मिति नतोकिएको बताए ।

निर्वाचन नसकिएको अवस्थामा तुरुन्त प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भन्ने नभएको र आफ्नो संवैधानिक दायित्व पूरा गरेपछि बुहमतसिद्ध गर्ने दललाई सत्ता हस्तान्तरण गर्ने पक्षमा प्रधानमन्त्री रहेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन भर्खरै सम्पन्न भएको र निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संघीय संसदको अन्तिम नतिजा पनि नबुझाएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्नुको कुनै तूक नभएको तर्क पनि छ ।

यता, वाम गठबन्धनका नेताहरुले भने प्रधानमन्त्री देउवाले पद त्याग्न अलमल गरेको आरोप लगाएका छन् ।

राष्ट्रियसभाको निर्वाचन सम्पन्न हुँदासमेत प्रधानमन्त्रीले पद नछाडेर संविधानको खिल्ली उडाएको भन्दै राजीनामा गरेर चाँडो नयाँ सरकारका लागि ढोका खोल्नुपर्ने उनीहरु बताउँछन् ।

सबै तहको निर्वाचन परिणाम सार्वजनिक हुन अझै एक साताभन्दा बढी समय लाग्ने भएकाले प्रधानमन्त्री देउवाले तत्काल सरकार छाड्ने संकेत देखिँदैन ।

भिडियो हेर्नुहोस्