
खानपान र जीवनशैलीका कारण बढेको कलेजोरोगको समस्या मद्यपान र लागुपदार्थ सेवन गर्नेमा बढी मात्रामा देखिएको छ ।
हातगोडा सुन्निनु, बान्ता हुनु, अस्वाभाविकरुपमा तौल घट्दै जानु, कमजोर महसुस गर्नु, आँखा र शरीर पहेंलो हुँदै जानुजस्ता लक्षण देखिन थालेको छ भने तपाइँलाई कलेजोरोगको समस्या रहेको हुनसक्छ ।
हाल नेपालमा कलेजोरोगको समस्या वर्षेनि डरलाग्दो तवरले बढ्दै गएको कलेजोरोग विशेषज्ञहरु बताउँछन् । हेपाटाइटिस ‘ए’, ‘बी’ र ‘सी’को कारण पनि कलेजोरोगको जोखिम निकै बढेको छ ।
बढी मद्यपानको प्रयोग, खानपान र जीवनशैलीका कारण कलेजोरोगको जोखिम बढ्ने कलेजोरोग विशेषज्ञ डा. अनिल मिश्रले बताए ।
कलेजो मानिसको शरीरको महत्वपूर्ण अंग हो, जसले खाएको खाना पचाएर शरीरमा पोषण दिन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यदि कलेजो बिग्रियो भने कब्जियत र अपचको समस्या देखिन थाल्छ ।
फोहोर पानीको प्रयोगबाट हुने रोगहरु तथा जन्डिसको समस्या देखिन थालेको छ भने पनि त्यसले कलेजोलाई असर गरिरहेको हुन्छ । सिरिन्जबाट लागुपदार्थ लिने व्यक्तिमा कलेजो बिग्रने सम्भावना उच्च हुन्छ ।
डा. मिश्रकाअनुसार कलेजोरोगका लागि विश्वभरिका चिकित्सकहरुलाई चुनौतीकोरुपमा हाल देखिएको नै सिरिन्जबाट लागुपदार्थ प्रयोग गर्नेमा हुने कलेजोको समस्या हो ।
शरीरमा आइरनको उत्पादन बढ्दै गयो भने पनि त्यसले कलेजोलाई असर गर्छ । शरीरलाई आवश्यक हेमोग्लोबिन उत्पादन गर्न आइरनको आवश्यकता पर्छ । त्यही आइरनको मात्रा बढ्दै गयो भने त्यसले कलेजोलाई फाइदा गर्दैन । त्यसकारण शरीरमा आइरनको मात्रा कति छ भनी समय–समयमा परीक्षण गर्न चिकित्सकहरु सुझाउँछन् ।
‘ओभरडोज’ औषधिको प्रयोग गर्नु पनि कलेजो बिगार्ने एउटा प्रमुख कारण हो । कलेजोमा समस्या देखिन थाल्यो भने चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्ने र खानपान तथा जीवनशैलीमा विशेष ध्यान पुर्याउन सकियो भने पनि कलेजोरोग पूर्णरुपमा निको हुन्छ ।
कलेजो पूर्णरुपमा बिग्रियो भने कलेजो ‘ट्रान्सप्लान्ट’ नै गर्नुपर्ने हुन्छ । हाल भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रले कलेजोको ट्रान्सप्लान्ट सुरु गरिसकेको छ भने नेपालमा कलेजोसम्बन्धी सम्पूर्ण उपचार सम्भवसमेत भएको चिकित्सकहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्