
आफ्नो बहुमत रहेका प्रदेश १ र ३ मा एमालेले शुक्रबार संसदीय दलको नेता चुन्न लागेको हो ।
प्रदेश नम्बर ३ मा संसदीय दलको नेता चुन्न ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा निर्वाचन कार्यक्रम चलिरहेको छ । नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि चर्चामा रहेका राजेन्द्र पाण्डेले उम्मेदवारी नदिई शाक्यलाई समर्थन गरेका छन् ।
शाक्यको प्रस्तावकमा पशुपति चौलागाईं र समर्थकमा राजेन्द्रमान श्रेष्ठ तथा पौडेलको प्रस्तावकमा केशव स्थापित र समर्थकमा कैलाश ढुंगेल छन् ।
दलको नेता प्रदेशको मुख्यमन्त्री हुने भएकाले प्रतिस्पर्धा रोचक भएको हो ।
उम्मेदवारी मनोनयनपछि दिउँसो साढे १२ पछि निर्वाचन हुने प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिए ।
पौडेल संस्थापन तथा शाक्य माधव नेपाल पक्षका मानिन्छन् ।
प्रदेश ३ मा एमालेका ५८ सांसद छन् । ५८ मध्ये ओली पक्षमा ३४ जना रहेको दावी गरिएको छ ।
उता, शुक्रबार नै दलको नेता चुनिने प्रदेश १ मा संसदीय दलको नेता बन्न भीम आचार्य, शेरधन राई र जीवन घिमिरे प्रतिस्पर्धामा छन् ।
राई संस्थापन तथा आचार्य झलनाथ खनाल तथा जीवन घिमिरे माधव नेपाल पक्षका मानिन्छन् । आचार्य र घिमिरेमध्ये एकलाई अन्तिम प्रतिष्पर्धामा लैजाने प्रयासमा नेपाल र खनाल पक्ष लागेको छ ।
प्रदेश ४ मा पनि चुनाव नै हुने सम्भावना छ । यस प्रदेशमा किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङ मूख्य प्रतिष्पर्धी मानिन्छन् । प्रदेश ५ मा भने शंकर पोखरेल सर्वसम्मतरुपमा दलको नेता चुनिइसकेका छन् ।
प्रदेश २ मा मधेशकेन्द्रित दलका नेता मूख्यमन्त्री बन्नेछन् भने एमालेसँगको तालमेलमा प्रदेश ६ र ७ मा मूख्यमन्त्री माओवादीको भागमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्