१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


देशको हित नहुने भएमा अर्को फड्को हान्छु : दाहाल


0
Shares

महाबौद्ध गुम्बा, तीनखोलेको उद्घाटन समारोहलाई शनिबार चितवनमा सम्बोधन गर्दै उनले देशलाई अप्ठ्यारो पर्न लाग्यो भने कुनै उपाय निकालेर अगाडि बढ्ने बताए ।

उनले भने–‘म अहिले जहाँनेर छु त्यहाँबाट देशको हित नहुने भयो भन्ने लाग्यो भने मैले अर्को फड्को हान्न बेरै लाग्दैन’–उनले अगाडि थपे–‘अब प्रचण्ड भनेकै त्यही भइसक्यो । माओवादी भनेकै त्यही भइसक्यो । अप्ठ्यारो पर्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अगाडि बढ्नेछु ।’

उनले बुद्धधर्मको संरक्षण गर्न अधिकारसम्पन्न प्राधिकरण आवश्यक भएको बताए । गुम्बा निर्माण समितिभन्दा प्रभावकारी र शक्तिशाली निकाय आवश्यक परेको भन्दै उनले प्राधिकरण निर्माणमा जोड दिए ।

संविधानले सबै धर्मलाई समानरुपमा सम्मान गरेको उल्लेख गर्दै उनले तर हाम्रो संस्कार त्यस्तो बनिनसकेको बताए ।

राजनीतिले कुनै धर्मलाई काखा र कुनै धर्मलाई पाखा गर्न नहुने बताउँदै उनले जनताको आफ्नो आस्था नखोसियोस् भनेर राज्यलाई धर्मनिरपेक्ष घोषणा गरिएको बताए ।

उनले ‘झड्केलो सन्तान’कारुपमा अरु धर्मलाई हेरिने गरेको बताउँदै भने–‘सिद्धान्तमा स्थापित छ, तर व्यावहारिक बनाउन सकिएको छैन ।’

बुद्धधर्म प्रगतिशील भएको बताउँदै उनले शान्तिका लागि बुद्धधर्मले महत्वपूर्ण भूमिका खेलेको बताए ।

चितवनको विकास, राजनीति र भाषाभाषीलाई चासो र चिन्ताकारुपमा आफूले लिएको बताउँदै उनले सुन्दर, सभ्य जिल्लाकारुपमा विकास गर्न गुरुयोजना बनाएर काम गर्नसकिने बताए ।

कांग्रेससँग संवाद र सहकार्य नगरी विकास अगाडि बढ्न नसक्ने बताउँदै उनले सबैलाई सहमतिमा ल्याएर देशको विकास गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले राजनीतिक पद्धतिको लडाइँको अन्त्य भएको भन्दै अब विकासका लागि अघि बढ्नुपर्ने बताए ।

अब बन्ने वाम गठबन्धनको सरकारलाई विकासको चुनौती रहेको बताउँदै उनले जनताको आशा र अपेक्षाअनुसार काम गर्नसमेत आग्रह गरे ।

कार्यक्रममा गुम्बा निर्माण समितिका निर्देशक नरेन्द्रकुमार गुरुङ, पूर्वअध्यक्ष टेकप्रसाद गुरुङ, भिक्षु कमल भण्डारीलगायतले बोलेका थिए ।

कार्यक्रममा गुम्बा निर्माण समितिका पूर्वअध्यक्ष देवेन्द्रबहादुर गुरुङलाई अभिनन्दन गरिएको थियो । रासस