
सामुदायिक विद्यालयबाट बर्सेनि ४ हजार विद्यार्थी घट्दै गएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
लमजुङको बेसीशहर नगरपालिका–१० बाँझाखेत साँधुमा रहेको बुद्धीविकास प्राथमिक बिद्यालयमा चालु शैक्षिक सत्रमा एक जना मात्र विद्यार्थी अध्ययनरत छन् ।
तीन जना शिक्षक दरबन्दी रहेको यहाँ विद्यार्थी संख्या बढ्न नसकेको धेरै बर्ष भयो । बेसीशहर–१० खाँचेकै गणेश प्राविको अवस्था पनि उस्तै छ ।
यहाँ पनि तीन जना शिक्षकले २ जना विद्यार्थी पढाइरहेका छन् । मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानी भलामको अरुण्यदय प्रावि, मस्र्याङ्दी–३, खुदी अर्खलेबेसीको जनचेतना प्राविमा पनि २/२ जना मात्र विद्यार्थी छन् ।
जिल्ला शिक्षा कार्यालयकाअनुसार राइनास नगरपालिकाको मोहोरियाकोटको विरेन्द्र शान्ति प्राविमा ३ जना, मस्र्याङ्दी–६ बाहुनडाँडा डहरेको हिमालय प्राविमा ३ जना, सुन्दरबजार नगरपालिकाको कुन्छास्थित बालविकास प्राविमा ४ जना मात्र विद्यार्थी अध्ययनरत छन् ।
यस्तै मस्र्याङ्दी–१ घनपोखरा घोप्टेस्थित विद्याज्योति प्राविमा ४ जना, घिम्राङको जनकल्याण प्राविमा ५ जना, खुदी जिम्दुको देउराली प्राविमा ५ जना मात्र विद्यार्थी छन् ।
जिल्ला शिक्षा कार्यालय लमजुङका अनुसार १० जनाभन्दा कम विद्यार्थी हुने विद्यालयको संख्या ५६ वटा रहेको छ ।
जिल्लाका ३ सय ४९ विद्यालयमध्ये करिब डेढसय विद्यालयमा मुस्किलले २० जनासम्म विद्यार्थी रहेको शिक्षा कार्यालयको तथ्याङ्कमा देखिन्छ ।
शिक्षा कार्यालयका शाखा अधिकृत बाबुराम बरालका अनुसार सामुदायिक विद्यालयबाट बर्षेनी चारहजार विद्यार्थी घटिरहेका छन् ।
सृजना प्रावि छिनखोलाका प्रधानाध्यापक नौबहादुर गुरुङ बसाई सराई र नीजि विद्यालयको आकर्षणका कारण विद्यार्थी संख्या घट्दै गएको बताए । विद्यार्थी बढाउन धेरै प्रयास गरिएपनि सफल हुन नसकेको उनको तर्क छ ।
यसअघि विद्यार्थी संख्या कम भएका २० विद्यालय गाभिएको थियो भने १० विद्यालयको तह घटाइएको थियो ।
जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कमाल अब विद्यालय हेर्ने जिम्मेवारी स्थानीय तहको भएकाले उनीहरुसँग छलफल गरेर अघि बढ्ने बताउँछन् ।
विद्यार्थी संख्या कम भएका विद्यालयलाई गाभ्ने, शैक्षिक गुणस्तरमा बृद्धि गर्ने र शिक्षकहरुको राजनीतिक यात्रामा लगाम नलगाउने हो भने सामुदायिक विद्यालयको अबस्था यो भन्दापनि बढी खस्किने सरोकारवालाहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्