१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


पहिलो मुख्यमन्त्री बनेका डोरमणि पौडेल को हुन् ? (भिडियो)


0
Shares

लामो समयसम्म जिल्ला राजनीतिमा सक्रिय पौडेल एमालेभित्र इमान्दार र बौद्धिक नेताका रुपमा परिचित छन् ।

२००२ साल चैत १५ गते काठमाडौंको तत्कालीन फर्पिङ गाविसमा जन्मिएका पौडेलको स्थायी घर भने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुर हो ।

उनले मानविकी संकायमा स्नातक गरेका छन् । पौडेल २०४८ र २०५४ सालमा भएको स्थानीय निर्वाचनमा हेटौंडा नगरपालिकाको प्रमुखमा निर्वाचित भएका छन् ।

पौडेल नेपाल नगरपालिका संघको २०५४ सालदेखि हालसम्मका अध्यक्ष पनि छन् । उनले राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगमा सदस्य भएर काम गरेका छन् ।

पौडेल अन्तर्राष्ट्रिय संस्था यूसीएलजीको उपाध्यक्ष, सिटीनेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, शहीद स्मारक बिकास समितिको अध्यक्ष समेत छन् ।

२०३० सालदेखि नै बिद्यार्थी राजनीति गरेका पौडेल २०३६ सालदेखि सक्रिय राजनीतिमा सक्रिय भएका थिए । २०३२ सालदेखि १० वर्ष शिक्षक भएर शिक्षण समेत गराएका थिए ।

लामो समय अर्धभूमिगत जीवन विताएका पौडेलको २०४६ सालको जनआन्दोलनताका तत्कालिन सरकारले टाउकोको मूल्य तोकेपछि ५६ दिन भारतमा गएर बसेका थिए ।

चार पटक कैद सजाँय तोकेर जेल जीवन विताएका पौडेल १८ पटक प्रहरीको हिरासतमा बसेका थिए ।

पार्टीको केन्द्रीय राजनीतिको अनुभव नभए पनि उनी जिल्लास्तरमा लोकप्रिय र इमान्दार नेताको रुपमा परिचित छन् ।

हेटौंडा नगरपालिकाको प्रमुख हुँदा उनले गरेका कामलाई लिएर देशभर प्रशंसा हुने गरेको थियो ।

मुलुककै पहिलो मुख्यमन्त्री बन्ने सौभाग्य उनको असल छविकै कारण सम्भव भएको हो ।

खारिएको बौद्धिकता, कुशल योजनाकार र नेतृत्व क्षमताका धनी पौडेललाई प्रदेश नम्बर ३ ले मुख्यमन्त्रीका रुपमा पाएको छ ।

भावी दिनमा पौडेलले आफ्नो क्षमता प्रयोग गरेर प्रदेश नम्बर ३ लाई नमूना प्रदेशका रुपमा विकास गर्ने अपेक्षा गरिएको छ ।

(भिडियो)