
सोमबार बसेको प्रदेश नम्बर–७ को प्रदेशसभा बैठकले थापालाई सर्वसम्मत् निर्वाचित गरेको हो ।
बैठकको सुरुमा बैठकको अध्यक्षता गरेकी प्रदेशसभाकी ज्येष्ठ सदस्य दिव्यश्वरी शाहले सभाको सभामुख बनाउन एकमात्रै प्रस्ताव आएको जानकारी गराएकी थिइन् ।
बैठकमा थापालाई सभामुख बनाउन दीर्घबहादुर सोराडीले प्रस्ताव राखेका थिए भने नेकपा माओवादी केन्द्रका सांसद त्रिलोचन भट्टले समर्थन गरेका थिए ।
प्रस्तावक र समर्थकहरुले सभामा आफ्ना भनाइ राखिसकेपछि अध्यक्षले सभामुखमा थापालाई निार्वाचित गर्न एकमात्रै प्रस्ताव आएकाले प्रदेशसभा सन्चालन कार्यविधि २०७४ को दफा ६ को उपदफा ३ बमोजिम निर्वाचित भएको घोषणा गरिन् ।
उपसभामुख निर्वाचनको मिति आगामी फागुन ६ गते १ बजेका लागि तोकिएको छ ।
प्रदेश–७ प्रदेशसभा एमालेका २५ र माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र राजपा नेपालका दुईजना सांसद छन् ।
पदको मर्यादा राखेर काम गर्छु : सभामुख थापा
प्रदेश नम्बर–७ का सभामुख अर्जुनबहादुर थापाले आफूले सभामुख पदको मर्यादाभित्र रहेर काम गर्ने बताएका छन् ।
सभामुख पदमा सर्वसम्मत् निर्वाचित भएपछि प्रतिक्रिया दिँदै सभामुख थापाले आफूले सत्तापक्ष र प्रतिपक्ष भनेर काम नगर्ने बताए । उनले पार्टीभन्दा माथि उठेर काम गर्ने बताए ।
उन्ले कानुनी शासन, लोकतन्त्र र प्रेस स्वतन्त्रताको सम्मान गरिनेपनि बताए ।
को हुन सभामुख थापा ?
६२ वर्षीय थापा बझाङ क्षेत्र नम्बर–१ ‘क’बाट विजयी सांसद हुन् ।
२०३६ सालमा शिक्षक संगठनबाट राजनीतिमा प्रवेश गरेका थापा एमाले बझाङका अध्यक्षसमेत रहिसकेका छन् । उनी २०५६ को आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक थापा २०५६ सालसम्म शिक्षण पेसामा आवद्ध थिए ।
उनले प्रदेशसभामा योपटक नेपाली कांग्रेसका अर्जुनचन्दा जोशीलाई पराजित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्