२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


माओवादी केन्द्रबाट समानुपातिक सांसदको सूची पेस (नामावली)


0
Shares

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालकाअनुसार पार्टीले प्राप्त गरेको १७ जना सांसदमा खस–आर्य महिलाबाट पाँचजना निर्वाचित गर्न सूची पठाएको छ ।

त्यसमा रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाइँ, सत्या पहाडी र सीता पोखरेल छन् । शर्मा पूर्वमन्त्री एवं सभासद हुन् । सुवेदी पूर्वउपसभामुख, चापागाइँ पूर्वराज्यमन्त्री र पहाडी पूर्वमन्त्री हुन् । पोखरेल भने माओवादी केन्द्र महिला संगठनका पूर्वअध्यक्ष हुन् ।

यस्तै, आदिवासी–जनजातिबाट जयपुरी घर्ती, शशि श्रेष्ठ, ओनसरी घर्ती, यशोदा गुरुङ र अमृता थापा रहेको प्रवक्ता भुसालले जानकारी दिइन् । जयपुरी पूर्वमन्त्री तथा ओनसरी पूर्वसभामुख हुन् ।

यस्तै, दलित महिलाबाट अञ्जना विशंखे र दुर्गा विकलाई चयन गरेर सूची बुझाइएको छ । मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनोट भएका छन् ।

थारु वा मुस्लिमबाट रामकुमारी चौधरी र शेष चाँदतारा चयन भएको प्रवक्ता भुसालले जानकारी दिइन् ।

माओवादी केन्द्रबाट समानुपातिकतर्फ एकमात्रै पुरुष सांसदमा चयन भएका छन् । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हितराज पाण्डेको नाम सिफारिस गरिएको छ ।

आयोगले तोकेको समयसीमाभित्रै समानुपातिकतर्फको सूची बुझाइएको माओवादी केन्द्रले जनाएको छ ।

ओली र दाहालबीच एक्ला–एक्लै भेटवार्ता
प्रवक्ता भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार भएको छलफल सकारात्मक भएको जानकारी दिइन् ।

उनले एकताका सन्दर्भमा सोमबारको छलफलले केही सकारात्मक गति लिएको र एकाध दिनभित्रै सार्थक निष्कर्षमा पुग्ने बताइन् ।

‘छलफल असाध्यै सकारात्मक छ । एकाध दिनभित्रै सार्थक परिणाम निस्कन्छ’–प्रवक्ता भुसालले भनिन् ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच सोमबार एक्ला–एक्लै भेटवार्ता भएको थियो । मंगलबार अध्यक्षद्वयबीच एक्ला–एक्लै पुनः भेटवार्ता गर्ने कार्यक्रम छ । रासस