२० दिनमा मेलम्ची सुरुङमा ‘ब्रेक थ्रु’ • Image Khabar Image Khabar


२० दिनमा मेलम्ची सुरुङमा ‘ब्रेक थ्रु’


Imagekhabar
१ फाल्गुन २०७४, मंगलवार १५:१३

२० दिनमा मेलम्ची सुरुङमा ‘ब्रेक थ्रु’

सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको ९ किलोमिटरमा मंगलबारसम्म २४० मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ । अहिले दैनिक १२ मिटर सुरुङ खन्ने काम भइरहेको छ ।

अम्वाथानदेखि ग्यालथुसम्म करिब ९ किमि र सुन्दरीजलदेखि सिन्धुसम्म करिब ९ किमि सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । सो आयोजनाको कुल सुरुङमार्ग २७.५ किलोमिटर रहेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १०औं वार्षिकोत्सवका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले सो जानकारी दिँदै अबको २० दिनमा राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण ‘ब्रेक थ्रु’ हुने जानकारी दिए ।

सो आयोजनाबाट उपत्यकामा दैनिकरुपमा १७ करोड लिटर पानी झरेपनि अझै उपत्यकावासीलाई ३४ करोड लिटर पानी अपुग हुनेछ ।

उनले खानेपानी तथा सरसफाइ जनताको मौलिक अधिकारकारुपमा संविधानमा रहेको चर्चा गर्दै ‘यसलाई पूरा गर्न लिमिटेडले ध्यान दिनुपर्छ’–भने ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुर रज्जाकले ‘उपत्यकावासीका घरमा खानेपानीको धारा छ, पानी छैन, यस्तो अवस्थालाई अन्त्य गर्न मेलम्ची खानेपानी आयोजना पूरा गर्न सबैको ध्यान जानुपर्छ’–भने ।

सो अवसरमा लिमिटेडमा कार्यरत् उत्कृष्ट मिटर रिडर अमृतमणि दाहाल, मदन महर्जन र सन्तोष ओझालाई सम्मान गरिएको थियो ।

लिमिटेडका महाप्रबन्धक डा. महेश भट्टराईले लिमिटेडको व्यवस्थापकीय क्षमता अभिवृद्धिमा ध्यान दिइएको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्