
बिराज रोस्यारा (इमेज)
कैलाली, फागुन २ । प्रदेश नम्बर–७ को मुख्यमन्त्रीका लागि माओवादी केन्द्र प्रदेश–७ का संसदीय दलका नेता त्रिलोचन भट्टले प्रदेशप्रमुखसमक्ष दाबी पेस गरेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रका ३७ जना सांसदको समर्थन रहेको संयुक्त हस्ताक्षरको पत्रसहित भट्टले मुख्यमन्त्रीका लागि प्रदेशप्रमुख मोहनराज मल्लसमक्ष बुधबार दिउँसो दाबी पेस गरेका हुन् ।
प्रदेशसभाका बहुमत सांसदहरुको समर्थन आफूलाई रहेकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरिएको प्रदेशप्रमुखलाई बुझाइएको पत्रमा उल्लेख गरिएको छ ।
धनगढीबाहिर रहेका कारण एमाले सांसद हर्कबहादुर कुँवर र निर्मला बडालले मुख्यमन्त्रीमा समर्थन रहेको पत्रमा हस्ताक्षर गरेका छैनन् ।
प्रदेश–७ मा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने सहमति एमाले–माओवादीबीच यसअघि भएको थियो ।
माओवादीले मुख्यमन्त्रीको उम्मेदवार भट्टलाई बनाउने निर्णय गर्दै उनलाई संसदीय दलको नेता यसअघि नै चयन गरेको थियो ।
बुधबारै बिहान प्रदेशप्रमुखको कार्यालयले मुख्मयन्त्रीका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेको थियो ।
प्रदेशप्रमुखले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेको केही घन्टामै एमाले र माओवादीले संयुक्तरुपमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । ५३ सदस्यीय प्रदेशसभामा यी दुई दलको दुई तिहाइ बहुमत छ ।
यो प्रदेशमा एमालेका २५ जना, माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टी नेपालका दुईजना प्रदेश सांसद छन् ।
बहुमत सांसदको समर्थनसहित दाबी पेस भएपछि प्रदेशप्रमुखको कार्यालयले बिहीबार (भोलि) भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने भएको छ ।
प्रदेशप्रमुख कार्यालयका स्रोतकाअनुसार यही शुक्रबार शपथ खुवाउने गरी बिहीबार नै भट्टलाई मुख्यमन्त्री नियुक्त गरिनेछ ।
प्रदेशप्रमुखको कार्यालयका निमित्त सचिव हिरालाल चौधरीले ५ गतेभित्रै शथपग्रहण हुने गरि मुख्यमन्त्रीको नियुक्ति प्रक्रिया अगाडि बढ्ने बताए ।
दलहरुले केही संख्यामा भएपनि मन्त्रीको टुंगो लगाउनसके मुख्यमन्त्री र मन्त्रीको शपथ एकसाथ गराउने तयारी प्रदेशप्रमुखको कार्यालयले गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्