२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


६५ हात्तीलाई ‘वनभोज’ खुवाइयो


0
Shares

राजु चौधरी (इमेज)
चितवन, फागुन २ । चितवनको पर्यटकीय क्षेत्र सौराहामा जारी १२औं सौराहा फुड फेस्टिभलको अवसरमा हात्तीहरुलाई ‘वनभोज’ खुवाइएको छ ।

प्रणय दिवसको अवसर पारेर रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (क्षेत्रीय रेवान) सौराहाको आयोजनामा जारी सौराहा फुड फेस्टिभलअन्तर्गत् बुधबार ६५ हात्तीहरुलाई वनभोज खुवाइएको हो ।

फेस्टिभलमा आकर्षणकारुपमा हात्ती वनभोज कार्यक्रमको आयोजना गरिएको रेवानका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।

बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको समन्वयमा हात्तीहरुलाई वनभोज खुवाइएको हो ।

वनभोज कार्यक्रममा युनाइटेड हात्ती सहकारी संस्था र ह्याप्पी होमका हात्तीहरुलाई सहभागी गराइएको थियो । हात्तीहरुलाई उखु, खिर, फलफूल, तरकारीलगायतका खानेकुराहरु खुवाइएको थियो ।

प्रेमपत्र लेखन प्रतियोगिता
फेस्टिभलमा प्रणय दिवसको अवसरमा बुधबार प्रेमपत्र लेखन प्रतियोगितासमेत आयोजना गरियो ।

प्रेमपत्र लेखनमा उत्कृष्ट भएका दुईजनालाई नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुने एन्जिला चापागाइँलाई नगद ५ हजार र द्वितीय हुने सन्जिता गौतमलाई २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको हो । फागुन ३ गतेसम्म चल्ने फुड फेस्टिभलमा करिब ७० ओटा स्टल रहेका छन् । जसमा खानाकामात्रै करिब ५० स्टल रहेका छन् ।