१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेपाल विश्वकप छनोटमा छानियो


0
Shares

काठमाडौं, फागुन २ । नेपाल अर्को महिना जिम्बाब्वेमा हुने विश्वकप छनोटका लागि छानिएको छ ।

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को लिग चरणको अन्तिम खेलमा नेपालले बुधबार क्यानडालाई सनसनीपूर्ण तरिकाले एक विकेटले हरायो ।

विजयका लागि १९५ रनको चुनौती पछ्याएको नेपालले ९ विकेटको क्षतिमा अन्तिम बलमा विजयी लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले अविश्मरणीय इनिङ्स खेल्नेक्रममा अन्तिम विकेटका लागि अविजित ५१ रनको साझेदारी गरे । करणले ३१ बलमा ४ छक्काको मद्दतले ४२ तथा सन्दीपले ५ रन जोडे ।

यसअघि, दीपेन्द्रसिंह ऐरीसँग मिलेर तेस्रो विकेटका लागि ५० रनको साझेदारी गर्नेक्रममा दिलीप नाथले ४१ रन जोडे भने ऐरीले १८ रन बनाए ।

त्यसैगरी, छैटौं विकेटका लागि ४६ रनको साझेदारी गर्नेक्रममा रोहितकुमार पौडेलले २७ तथा आरिफ शेखले २६ रन जोडे ।

अनुभवी ब्याट्सम्यानहरु कप्तान पारस खड्का ‘डक आउट’, शरद भेषावकर १ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ९ रनमात्रै जोडे ।

यसअघि, टस हारेर पहिले ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित् ५० ओभरमा ८ विकेट गुमाएर १९४ रन बनाएको थियो ।

क्यानडाका लागि ओपनिङ ब्याट्सम्यान श्रीमन्था विजारत्नेले अविजित रहँदै १०३ रन बनाए ।

नेपालका बसन्त रेग्मीले ३, सन्दीप लामिछाने २ तथा करण केसी र शरद भेषावकरले एक/एक विकेट लिए ।

यो खेलसँगै नेपाल र युएईले जिम्बाब्वेको टिकट काटेका छन् । युएईले बुधबारै नामिबियालाई पराजित गरेको हो ।